कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितलाई उपचार गर्न तोकिएका अस्पताल नै राख्‍न मान्दैनन् बिरामी

माधव अर्याल

पाल्पा — कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका अस्पतालले बिरामी राख्‍न नमान्दा बिरामीसँगै एम्बुलेन्स चालकले पीडा बेहोर्नु परेको छ ।

कोरोना संक्रमितलाई उपचार गर्न तोकिएका अस्पताल नै राख्‍न मान्दैनन् बिरामी

पीपीई लगाएर संक्रमित बिरामी लिएर बुटवल, भैरहवा जाँदा थप अस्पतालमा भर्ना लिन नमानेको पीडितको गुनासो छ ।

‘बिरामी सहज रुपमा अस्पतालले राख्न नमान्दा हामीले सास्ती खेप्नुपरेको छ,’ पाल्पा अस्पतालका एम्बुलेन्स चालक सुरज खत्रीले भने, ‘खुरुक्क बिरामी राखिदिने हो भने सास्ती हुने थिएन ।’ खत्रीका अनुसार मंगलबार बिहान मिसन अस्पतालबाट संक्रमित बिरामी लिएर बुटवल, भैरहवा पुगेर पुन: बिरामी पाल्पा फिर्ता गर्नु परेको छ ।

मिसन अस्पतालमा उपचार गराइरहेका ५२ वर्षीय बिरामीमा कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका धागो कारखानास्थित कोभिड अस्पतालमा लगेका थिए । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्‍याएर ल्याउन भनेको थियो । प्रादेशिकले बेड नभएको भन्दै राख्न मानेन ।

एम्बुलेन्स चालकले भीम अस्पताल भैरहवा लिएर गए । त्यहाँ पनि राख्न बेड अभाव भएको जानकारी पाएपछि बुटवलको मुटु अस्पताल ल्याए । त्यहाँ पनि राख्न नमानेपछि पुन: पाल्पा फिर्ता ल्याएको चालक खत्रीले बताए ।

मिसन अस्पतालका प्रमुख व्यवस्थापक जीवन भट्टराईले कोरोना संक्रमित बिरामीको थप उपचार गर्नुपर्ने भएकाले पाल्पा अस्पतालको समन्वयमा बुटवल पठाएको बताए । ‘हामीले समन्वय गरेर नै पठाएको हो,’ उनले भने, ‘तर कुनै पनि अस्पतालले राख्न नमानेपछि बिरामीलाई पुन: पाल्पा लिएर आएको छ ।’

अब अस्पतालले व्यवस्थापन हेरेको वृद्धाश्रम आइसोलेसनमै राखेर उपचार गर्ने उनले बताए । पाल्पा अस्पतालका डा. जगदीश कुँवरले बुटवलमा समन्वय गरेर मात्र लैजान मिसनलाई आग्रह गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले बेड खाली नभएकाले फिर्ता पठाउनु परेको बताए । ‘अस्पतालमै भर्ना भएका कोरोना संक्रमित बिरामीलाई बेड पुगेको थिएन,’ उनले भने, ‘अन्य अस्पतालका विषयमा थाहा भएन तर हामीले राख्न सक्ने अवस्था थिएन ।’

प्रादेशिक अस्पतालमा कोभिडका बिरामी राख्नका लागि ३६ आइसोलेशन, १७ आईसीयू र शंकास्पदका लागि ७ वटा बेड रहेको सूचना अधिकारी डा. गौतमले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?