कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिरीको मृत्यु घटनामा छानबिन माग गर्दै धर्ना

नवीन पौडेल

परासी — नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवास गिरीको मृत्यु प्रकरणबारे छानबिन माग गर्दै विभिन्न दलका नेता–कार्यकर्ताले जिल्ला प्रशासनमा धर्ना दिएका छन् ।

गिरीको मृत्यु घटनामा छानबिन माग गर्दै धर्ना

३८ वर्षीय गिरीको साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पित्तथैलीको अपरेसन गरिएको थियो । अपरेसनपछि कोरोना संक्रमण देखिएको भन्दै उनलाई भीम अस्पताल, रूपन्देही र त्यसपछि पाटन अस्पताल, काठमाडौं रिफर गरिएको थियो ।

उपचारकै क्रममा भदौ १ गते पाटन अस्पतालमा उनको मृत्यु भएको थियो । कोरोना परीक्षण नगरी अप्रेसन गर्नु र अप्रेसनपछि कोरोना देखिएको भन्दै रिफर गर्नुमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको लापरबाही रहेको कांग्रेस नेता तथा प्रदेश सांसद वैजनाथ जयसवालले बताए ।

निष्पक्ष छानबिनका लागि नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाज, किसान हकहित संरक्षण मञ्चका नेता–कार्यकर्ताले बिहान ११ देखि १२ बजेसम्म प्रशासनको मूल गेटमा धर्ना दिएका हुन् ।

प्रजिअ सागरमणि पाठकलाई ज्ञापनपत्रसमेत बुझाएका गिरीका आफन्त र नेताहरूले अपरेसनका क्रममा चिकित्सकले गरेको लापरबाही ढाकछोप गर्न कोरोना संक्रमणको कारण देखाइएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

परिवारले पनि सामान्य अवस्थामा अपरेसन गर्न पुगेका गिरीको अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग राखी जिल्ला प्रशासनमा निवेदन दिएको छ।

प्रकाशित : भाद्र २३, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?