कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरी अस्पतालमा २ हजार २ सय रुपैयाँमा पीसीआर परीक्षण

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा रहेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको छ । भेरी अस्पतालमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेभन्दा बाहेक व्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पीसीआरको स्वीकृति पाएको हो ।

भेरी अस्पतालमा २ हजार २ सय रुपैयाँमा पीसीआर परीक्षण

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको समितिले सूचना जारी गरी जनाएको छ । ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रतिपरीक्षण दुई हजार दुई सय मात्र लिने निर्णय गरिएको छ,’ भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले भने ।

प्रदेश ५ सरकारले नेपालगन्जको भेरी अस्पतालसहित प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ । भेरी अस्पताललाई १ करोड ४० लाख रुपैयाँ स्वीकृत दिएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो । भेरीका लागि १ सय ५२ जना दरबन्दी राख्ने निर्णय भएको छ

भेरी अस्पतालमा प्रदेश सरकारले १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष धितालले बताए । यो अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछ । भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?