तीन महिनादेखि अस्पतालमा छट्पटाउँदै- प्रदेश ५ - कान्तिपुर समाचार

तीन महिनादेखि अस्पतालमा छट्पटाउँदै

'उपचारका लागि ऋणधन मात्र होइन, खेतै बेचियो तर डिस्चार्ज गर्ने बेला रकम भएन'
माधव ढुंगाना

भैरहवा — युनिभर्सल शिक्षण अस्पताल भैरहवास्थित सर्जिकल विभागको पोस्ट अपरेटिभ वार्डको बेड नं. १० मा झण्डै तीन महिनादेखि एक युवक अचेत अवस्थामा छट्पटाइरहेका छन् । छोरो बाँच्ने आशामा उनकी आमा रमावती छोराको शरीर सुमसुम्याउँछिन् । बलिन्द्र धारा आँशु झार्दै छोरो सन्चो होस् भनेर पुकार गर्छिन् । 

नवलपरासीको रामग्राम–१७ देवगाउँ फुलभरिया निवासी १७ वर्षीय युवक छोटु साहनी र उनको पारिवारिक अवस्था देख्दा जो कोहीको मन भक्कानिएर आउँछ । गत जेठ १२ गते घरनजिकै आँप टिप्‍ने क्रममा रुखबाट लडेर घाइते भएका उनी बाँचे पनि अब पहिलाजस्तै दुरुस्त हुने सम्भावना न्यून रहेको चिकित्सकले बताए ।

छोटुका बुवा उपचारका लागि पैसाको जोहो गर्न अर्कैको साइकलमा पछाडि बसेर गाउँ र भैरहवा ओहोरदोहोर गर्छन् । आमा रमावतीको छोरा लडेदेखि नै आँखा ओभानो छैन । बेडमा ढलेका अचेत छोरालाई सुम्सुम्याउँदै आँशु झार्छिन् ।

आमासँगै भाइको हेरचाहमा जुटेकी छोटुकी दिदी अन्जनीको अवस्था आमाको भन्दा फरक छैन । साहनी परिवारले केही वर्षअघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ । छोटुका बुवा अमेरिकाले एक वर्षअघि छोरीको पत्थरीको शल्यक्रिया गरे । दुई वर्षअघि श्रीमतीको पाठेघरको शल्यक्रिया भयो ।

‘छोराको उपचारका लागि भएको खेत सबै बेचिसकें, पाउने ठाउँबाट ऋण पनि लिइसकें । तर, छोरो सन्चो भएन,’ घर निर्माणका काममा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका बाबु अमेरिका साहनीले भने, ‘छोरालाई अस्पतालमा राखेर अब उपचार गराउने पैसा छैन । घर लैजाउँ भने डिस्चार्ज गर्ने रकम छैन ।’ उनी आफैं हर्नियाका रोगी भएकाले राम्रोसँग हिंडडुल गर्न सक्दैनन् ।

छोटु रुखबाट लडेपछि सुरुमै छिमेकीले परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगे । त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा रिफर गरियो । तत्काल शल्यक्रिया गर्नुपर्ने र यसका लागि ३ लाख रुपैयाँसम्म खर्च लाग्ने युनिभर्सल शिक्षण अस्पतालले जनायो । शल्यक्रिया गर्नुअगावै चिकित्सकले बाँच्ने सम्भावना ३० प्रतिशत रहेको र बाँचे पनि दीर्घकालीन रुपमा कुनै न कुनै समस्या आउने बताएका थिए ।


युनिभर्सल शिक्षण अस्पताल भैरहवा । तस्बिरः माधव/कान्तिपुर

‘अस्पतालमा ल्याउँदा छोटुको टाउकोमा गम्भीर चोट थियो र रगत जमिसकेको थियो,’ छोटुको उपचारमा सुरुदेखि नै संलग्न न्युरो सर्जन राजकुमार केसीले भने, ‘उनको मस्तिष्कमा जमेको रगतले केही भाग ड्यामेज गरिसकेकाले पछि पनि कुनै एउटा अंग प्यारालाइसिस हुने सम्भावना छ ।’ शारीरिक कमजोरीले गर्दा उनको स्वास्थ्यमा ढिलो सुधार आइरहेको र डिस्चार्जका लागि अझ डेढ महिनाजति समय लाग्न सक्ने केसीले बताए ।

तर, साहनी परिवारले अझ डेढ महिनाको अस्पतालको खर्च धान्न सक्ने अवस्थामा नरहेको बतायो । सम्पत्तिका नाममा साढे २ धुरमा बनेको कच्ची घरमात्र बाँकी रहेको र अरु सबै उपचारका लागि बेचिसकेको बाबु अमेरिकाले बताए । उनका अनुसार गाउँलेले जुटाएको सहयोग, नातेदार र साथीभाइसँग लिएको ऋण र सरसापट सबै उपचारका क्रममा सकिइसकेको छ । बचेको घर बिक्री गर्न खोजे पनि बिक्री हुन नसकेको उनले बताए ।

अस्पतालका अनुसार अहिलेसम्म छोटुको उपचारका क्रममा ७ लाख ३१ हजार १ सय ५७ रुपैयाँ खर्च भएको छ । जसमध्ये, अमेरिकाले ३ लाख ९० हजार १ सय ५७ रुपैयाँमात्र तिरेका छन् । आईसीयू, भेन्टिलेटर, बेडचार्ज लगायतमा ३ लाख ३३ हजार १ सय ८८ रुपैयाँ तिर्न बाँकी छ ।

अस्पतालका तर्फबाट केही रकम छुट दिने तयारी गरेकाले ठीक भएपछि मात्रै डिस्चार्ज गर्न अमेरिकालाई सुझाव दिएको अस्पतालका सहायक वित्तीय नियन्त्रक सुरज पौडेलले बताए । आर्थिक अभाव भएका ८–१० जना बिरामीलाई दैनिकजसो छुट दिने गरेको उनले जनाए । ‘कतिपयको बेड चार्ज शतप्रतिशत छुट गरिएको छ,’ उनले भने, ‘छोटुको खर्चमा पनि जतिसक्दो छुट दिन्छौं ।’ आर्थिक समस्याले गर्दा अमेरिकाले छोरालाई डिस्चार्ज गर्न भनिरहेका छन् । चिकित्सकले भने छोटुले राम्ररी खाने अवस्था नभएसम्म डिस्चार्ज गर्न नमिल्ने बताएका छन् ।

‘अझै डेढ महिना राख्दा ४/५ लाख रुपैयाँ खर्च हुन्छ । त्यति रकम कहाँबाट ल्याउने ?’ छोटुका बुबा अमेरिकाले भने, ‘औषधि उपचार, खाना, बस्न र आतेजाते गरेर १० लाखजति खर्च भइसकेको छ ।’ उपचारमा आफ्नो सबै जायजेथा सकिएकाले सहयोगका लागि उनले अपिल पनि गरेका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पीएसलेले छोटुको उपचारमा अस्पतालका तर्फबाट सक्दो सहयोग गरिए पनि यस्ता गरिब बिरामीको उपचारमा सरकारले पनि सहयोग गरेर आफ्नो दायित्व पूरा गर्नु पर्ने बताए ।

प्रकाशित : भाद्र ४, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्

इंग्लिस प्रिमियर लिग सेप्टेम्बर १२ देखि, लिभरपुलको पहिलो खेल लिड्स युनाइटेडसँग

एजेन्सी

लन्डन — सन् २०२०–२१ को सिजनको इंग्लिस प्रिमियर लिग(ईपीएल) को खेलतालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर १२ बाट ईपीएलको नयाँ सिजन सुरु हुने भएको हो ।

बिहीबार इंग्ल्यान्ड फुटबल संघले यस सिजनको सुरुवाती खेलतालिका सार्वजनिक गरेको हो ।

सेप्टेम्बर १२ मा ६ खेल हुने भएका छन् ।

सेप्टेम्बर १२ मा हुने खेलहरु

क्रिस्टल प्यालेस भर्सेस साउथह्याम्पटन

फुलहम भर्सेस आर्सनल

लिभरपूल भर्सेस लिड्स युनाइटेट

टोटनहम भर्सेस एभर्टन

वेस्ट ब्रुम भर्सेस लेस्टर सिटी

वेस्टह्याम युनाइटेड भर्सेस न्युकासल युनाइटेड

सेप्टेम्बर १४ मा हुने खेलहरु

ब्राइटन भर्सेस चेल्सी

सेफिल्ड भर्सेस वुल्भ्स

यस सिजनको च्याम्पियन क्लब लिभरपुलले पहिलो खेल यसै सिजन ईपीएलमा बढुवा भएको लिड्स युनाइटेडसँग सेप्टेम्बरमा सामना गर्ने भएको छ । यस सिजन लिभरपुलले आफ्नो सुरुवाति ५ खेल लिड्सबाहेक ठूला क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला तथा बर्नलीविरुद्ध म्यानचेस्टर युनाइटेडको खेलको मिति भने पछि मात्र तय गरिनेछ ।

लिभरपुलका सुरुवाति ५ खेल

सेप्टेम्बर १२, २०२० लिड्स युनाइटेडसँग(होम)

सेप्टेम्बर १९, २०२० चेल्सीसँग (अवे)

सेप्टेम्बर २६, २०२० आर्सनलसँग (होम)

अक्टोबर ३, २०२० एस्टन भिल्ला (अवे)

अक्टोबर १७, २०२० एभर्टन (अवे)

प्रकाशित : भाद्र ४, २०७७ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×