कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयुर्वेदिक औषधि बोकेर बुटवलका मेयरसहितको टोली संक्रमितको दैलोमा

अमृता अनमोल

बुटवल — होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो  अभियान सुरु गरेको छ ।

आयुर्वेदिक औषधि बोकेर बुटवलका मेयरसहितको टोली संक्रमितको दैलोमा

होम आइसोलेसनमा राखिएका संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य महाशाखा प्रमुखसहितको स्वास्थ्यकर्मीको टोली होम आइसोलेसनमा पुगेको हो ।

टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको मेयर सुवेदीले बताए ।

बुटवलमा बुधबारबाट यो अभियान सुरु भएको हो । पहिलो दिन मात्रै विभिन्न २६ स्थानमा रहेका होम आइसोलेनका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको मेयर सुवेदीले बताए । ‘यो हप्ता होम आइसोलेसनमा बसेका सबैलाई भेटेर आत्मबल बढाउने र स्वास्थ्य सजगता सिकाउने काम गरिनेछ,’ उनले भने ।

बुटवलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । उपमहानगरमा कोरोना विशेष अस्पताल र आइसोलेसन भए पनि लक्षण नदेखिएका संक्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकालाई होम आइसोलेसनमै राखिएको छ । बुटवलमा अहिलेसम्म १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?