कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी

नवीन पौडेल

परासी — तीज पर्वलाई लक्षित गरेर पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले शनिबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएको र तीज पर्वको समयमा भिडभाड र कार्यक्रम बढी हुने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरीएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । यो अवधिभर भेला, गोष्ठी, सेमिनार, सामूहिक जमघट गर्न पाइने छैन । सुरक्षा समितिको बैठकले निषेधाज्ञामा सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत् अनावश्यक रुपमा हिँडडुल गर्नसमेत रोक लगाइएको, धार्मिकस्थलमा दैनिक पूजाबाहेक भिड नगर्न र चाडपर्व घरमै मनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । साथै एक पालिकाबाट अर्को पालिकामा अत्यावश्यक कामबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ ।

पश्चिम नवलपरासीमा हालसम्म १ सय ३० जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको छ । पछिल्लो समय ५ सय १६ जनाको समुदायस्तरमा कोरोना परीक्षण गरिएकोमा ४ जनामा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?