कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेको खुला कारागारलाई आइसोलेसन बनाइयो 

रुपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा निर्माणाधीन देशकै पहिलो खुला कारागारलाई आइसोलेसनका लागि प्रयोगमा ल्याइएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको ६ बिघा जमिनमा निर्माणाधिन कारागारलाई आइसोलेसन बनाएको हो । सो आइसोलेसनमा १८ जना कोरोना संक्रमितलाई राखिएको छ ।

बाँकेको खुला कारागारलाई आइसोलेसन बनाइयो 

कम सजाय भएका तथा तुलनात्मक रुपमा आचरण ठिक भएका कैदी बन्दीलाई खुला कारागारमा राखिने छ । नेपालगन्जस्थित पहिलो कारागारमा चाप बढेपछि खुला कारागार सञ्चालनका लागि तयारी भइरहेको छ ।

‘कारागार सञ्चालनका लागि नियामावली बनेपनि कार्यविधि बनेको छैन,’ कारागार प्रमुख कारागार शाखा बाँकेका प्रमुख देवेन्द्र श्रेष्ठले भने, ‘कारागार निर्माणको पहिलो चरणको काम सकिएको छ ।’

गनापुरमा निर्माण भएको खुला कारागारको निर्माण करिब पौने २ करोडको लागतमा निर्माण भएको हो । खुला कारागार परिसरमा निर्माण भएका २ वटा बन्दी गृहमा ४ वटा भान्सा घरसहित ३२ वटा कोठा भएको बाँकेका कारागार प्रमुख श्रेष्ठले बताए ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको खुला कारागारमा विद्युत् जडान गरेर पानीको व्यवस्था भएपछि कैदी बन्दीलाई राख्न सकिने छ । कारागार परिसरमा उद्योग समेत निर्माण गरिने छ । ३२ वटा कोठा भएकाले एउटा कोठामा एउटा परिवारलाई राख्ने योजना हो,’ उनले भने ।

खुला कारागारमा बस्ने कैदी बन्दी साँझ तोकिएको समयभित्र कारागारमा प्रवेश गरेर रातभरि कारगारमै बस्नुपर्नेछ ।

बिहान कारागार प्रशासनबाट अनुमति लिएर कारागारभन्दा बाहिर गएर काम गर्न, परिवारका सदस्यलाई भेट्न र जागिर गर्न सक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

बाँकेमा २००० सालमा निर्माण भएको एउटा मात्रै कारगार छ । क्षमताभन्दा दोब्बर बढी कैदी बन्दीलाई राखिएका कारण कारागारमा कैदी बन्दीहले आधारभूत सुविधासमेत पाउन सकेका छैनन् ।

दुई बालबालिका ४५ जना महिला र ७ सय ५१ जना पुरुष गरी ३ सय क्षमताको कारागार भवनमा अहिले ७ सय ९८ जना कैदीबन्दी छन् । ४९ जना कैदीको मात्र अहिलेसम्म कोरोना परीक्षण गरीएकोमा सात जना कैदीबन्दी कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?