नेपालगन्ज उपमहानगरका एक वडाध्यक्ष र कार्यकारी अधिकृतलाई कोरोना संक्रमण- प्रदेश ५ - कान्तिपुर समाचार

नेपालगन्ज उपमहानगरका एक वडाध्यक्ष र कार्यकारी अधिकृतलाई कोरोना संक्रमण

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाका एक वडाध्यक्ष र कार्यकारी अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ५४ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा एक वडाध्यक्षसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्स नरेश श्रेष्ठले बताए ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा उनीहरुलाई सोमबार कोभिड-१९ पोजिटिभ देखिएको पुष्टि भएको हो । दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।

यस्तै बाँके जिल्ला अदालतका ५ जनामा पनि कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा आइतबार गरिएको परीक्षणमा १२ जनामा थप संक्रमण पुष्टि भएको थियो । ती मध्ये अदालतका मात्रै पाँच जना छन् । भेरी अस्पतालका अनुसार नयाँ संक्रमितहरुमध्ये आर्मी अस्पताल राँझाका एक चिकित्सकसहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना लगायत छन् ।

कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँकेमा आइतबारबाट निषेधित क्षेत्र जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न अपिल गरेका छन् ।

स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको छ । उनले भने ,‘एक हप्ता उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ ।’

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ ।

बाँकेमा हालसम्म ४ सय ४६ जनामा कोरोना देखिएको छ । ती मध्ये ३ सय ८८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : श्रावण १९, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्

हुम्ला चिनाउने रोकाया दाइ

फोनमा टिपाएको वा हुलाकमार्फत् पठाएको समाचार पत्रिकामा छापियो कि छापिएन वा रेडियोमा बज्यो कि बजेन भनेर उनलाई हप्तौं वा महिना दिनसम्म थाहा हुँदैनथ्यो ।
मनोज अधिकारी

एक्कासि मुटु गाँठो परेजस्तो भो । एकछिन सम्हालिन खोजेँ तर सकिएन । आँखा चिम्लिएर लामो स्वास लिँदै अझै सम्हालिन खोजेँ । तैपनि सकिएन । हिक्कहिक्क रुन थालेँ । स्वाँस्वाँ बढेर आयो । आँसु बररर् झरे । म हत्तपत्त रुने मान्छे होइन । रोएपछि अरुले रोक्न सक्दैन । आँसु पुछ्दै निकैबेर निहुँरिएर रोएँ । मनलाई वशमा राख्न सकिनँ ।

पछिल्लो समय कहिले यसरी रोएको थिएँ थाहा भएन । आज एक्कासि एउटा लेखले मलाई द्रवीभूत बनाएरै छोड्यो । सेतोपाटी डटकममा गिरीश गिरीले लेखेको ‘हुम्लालाई नेपालसँग जोड्ने पत्रकार’ भन्ने लेख पढ्दै थिएँ । पुराना स्मृतिहरु एकाएक मानसपटलमा आउन थाले । कतिपय अनुभूति मेरा पनि उस्तै थिए ।

हुम्लाका पत्रकार जयबहादुर रोकायाको निधनको खबर पूर्वसहकर्मी जितेन्द्र साहको फेसबुक पोस्टबाट यसअघि नै थाहा पाएको थिएँ । ओहो, ‘ती दाइ बितेछन्’ भनेर एकछिन मनमा लिएँ । साहले फेसबुकमा लेखेजस्तै पत्रकार रोकायाले कान्तिपुरमार्फत हुम्ला र काठमाडौंलाई जोडेका थिए । सायद तुरुन्तै अर्को कुनै फेसबुक पोस्टमा आँखा पुग्यो होला, त्यो प्रस‌ंग त्यत्तिकै छोडिदिएँ ।

गिरीश गिरीले उनै हुम्लाका पत्रकार रोकायाको स्मृतिमा लेखेको देख्नेबित्तिकै पढ्न थालेँ । केही लाइन पढ्दै गएपछि पहिलेका आफ्ना स्मृतिहरु झन् ताजा भएर आए । रोकाया दाइसँग मेरो त्यस्तो घनिष्ठ सम्बन्ध नभए पनि एक पूर्वसहकर्मीका रुपमा निकट सामीप्य थियो । उमेर र अनुभवका आधारमा उनी सधैं दाइ भनेर पुकारिन्थे ।

१२–१५ वर्षअघिसम्म हामी एकै संस्थामा कार्यरत थियौं । कान्तिपुरमा सात वर्ष रहँदासम्म रोकाया दाइसँग सायद एक वा दुईपल्ट भेट भयो होला । उनी विकट हुम्लाबाट कान्तिपुरका लागि समाचार पठाउँथे । म केन्द्रमा बसेर कान्तिपुर एफएममा उनका समाचार फोनबाट टिप्ने र पढ्ने गर्थें । यही सिलसिलामा उनीसँग मेरो दर्जनौंपल्ट कुराकानी भइरन्थ्यो । हुम्लाबाट समाचार पठाउने अहिलेको जस्तो सर्वसुलभ प्रविधि थिएन । फोनमा समाचार टिप्नु पर्थ्यो ।

उनी हुम्लाकै एक मात्र पत्रकार थिए । हत्तपत्त राजधानी आउँदैनथे । त्यतिबेला हुम्लामा सरकारी सूचना संयत्र समेत थिएन । हुम्लाबाट काठमाडौं समाचार पठाउन कति मुस्किल थियो ? त्यो भनिसाध्य थिएन । मौसम र हावाको गतिअनुसार फोन लाग्ने, नलाग्ने हुन्थ्यो ।

बल्लबल्ल फोन लागे पनि पुरै कुरा बुझ्न मुस्किल पर्थ्यो । पटकपटक फोन गरेपछि बल्ल एउटा समाचार पूरा हुन्थ्यो । यताबाट फोन नलाग्ने हुनाले उनकै फोन कुर्नुको विकल्प थिएन । कतिपल्ट फोनमा उनको आवाज नभई हावा मात्र सुसाउँथ्यो ।

मुस्किलले टिप्न सकिने उनका हरेक समाचार निकै महत्वका हुन्थे । ती समाचारले देशको एउटा सिंगो जिल्लाकै दारुण अवस्थालाई उतारेको हुन्थ्यो । जस्तै, ‘गाउँमा झाडापखलाको प्रकोप...,जीवनजल नहुँदा अकालमा बालबालिकाको मृत्यु...,पियनको भरमा स्वास्थ्यचौकी...,अज्ञात रोगले धेरैको मृत्यु...,कुनै औषधि नभएको रित्तो स्वास्थ्यचौकी.., शैक्षिक सत्र पूरा हुन लाग्दा समेत जिल्लामा पाठ्यपुस्तक पुगेनन्...’ जस्ता समाचार निकै ओजपूर्ण हुन्थे ।

यस्तै खाद्य संस्थानले राहतमा बाँडेको कुहिएको चामलदेखि माओवादीबाट अपहरण र हत्या भएका समाचारसमेत उनीबाहेक अर्को माध्यमबाट राज्यले पहिले थाहा पाउनै सक्दैनथ्यो । उनी देशको राजधानीलाई जिल्लाको सबैखाले सूचनामार्फत् जोड्ने एक मात्र पत्रकार थिए ।

फोन नलागेका बेला हप्तौं लाग्ने हुलाकमार्फत् खामबन्दीमा हुम्लाका समाचार आउँथे । ती समाचार कान्तिपुर एफएममा बजेर वा कान्तिपुर दैनिकमा छापिएपछि मात्रै सरकारी निकायले थाहा पाउँथे । त्यसपछि बल्ल राज्यले औषधि, खाद्यान्न, स्वास्थ्यकर्मी, शिक्षक र पाठ्यपुस्तक हुम्ला पठाएको कैयौं उदाहरण अहिले सम्झनामा आउँछ । ती समाचारपछि हामी केन्द्रमा फलोअप रिपोर्टिङ गर्थ्यौं ।

फोनमा बल्ल समाचार टिपेपछि उनी फेरि फोन नलाग्ने चिन्तामा हुन्थे । ‘कान्तिपुर दैनिकलाई पनि समाचार दिनू है’ भनेर उनी बिदा हुन्थे । कतिपल्ट काठमाडौंमा फोन नलाग्दा उनका समाचार नेपालगन्ज ब्युरोले टिपेर पठाउँथ्यो ।

यसरी मुस्किलले आउने कतिपय समाचार निकै पुराना पनि भइसक्थे । ढिलो भए पनि ती समाचार अरुभन्दा महत्व दिएर हेडलाइनमा बजाउँथ्यौं । राजधानी वा अन्य कुनै सुगम जिल्ला र सहरबाट दिनदिनै आउने राजनीतिक भाषण वा प्रेस विज्ञप्तिका समाचारभन्दा ती ओजस्वी हुन्थे । ती समाचारले एउटा सिंगो जिल्लाको प्राण बोकेको हुन्थ्यो ।

विडम्बना फोनमा टिपाएको वा हुलाकमार्फत् पठाएको समाचार पत्रिकामा छापियो कि छापिएन वा रेडियोमा बज्यो कि बजेन भनेर उनलाई हप्तौं वा महिना दिनसम्म थाहा हुँदैन्थ्यो । अर्कोपल्ट फोनमा समाचार टिप्ने बेला म उनको पहिलेको समाचार मुख्य हेडलाइन बनेर बजेको सुनाउन पाउँथे । त्यतिबेला मलाई एउटा ठूलै खबर उनलाई सुनाउन पाएँ जस्तो खुशी लाग्थ्यो । अर्कोतिर उनी कस्तो ठाउँबाट कसरी काम गरिरहेका होलान् ? भनेर मन कुँडिएर नरमाइलो पनि लाग्थ्यो ।

सहरका होटल र राजनीतिक दलका कार्यालयबाट नेताका भाषण र प्रेस विज्ञप्तिका समाचार ल्याउने कतिपय सहकर्मी उनको समाचार टिप्न आनाकानी गर्थे । कोही फोनमा कुरै बुझिँदैन भनेर पन्छिन्थे । कोही फोन काटिएर पटकपटक कुर्ने र उही कुरा दोहोर्‍याएर टिप्ने झन्झट सुनाएर तर्किन्थे । त्यसैले रोकाया दाइ मसँग धेरैपटक यस्तै गुनासो पोख्दै समाचार टिपाउन सहज मान्थे । त्यसैले उनीसँग मेरो अलि बढी सामीप्य भाव थियो ।

हल्लाका त्यस्ता समाचार व्यापारिक आँखाबाट खासै महत्वको लाग्दैनथे होला । केन्द्रमा राजनीतिक दाउपेचमा रमाउनेका लागि पनि चासो हुँदैनथ्यो होला । मानवीय रुपमा निकै महत्वपूर्ण हुन्थे । त्यसैले हुम्लाका समाचार प्रायः हेडलाइनमै राखेर बजाइन्थ्यो । हुम्लाका यी समाचार हामीबाहेक अर्को कुनै मिडियामा छैन भनेर त्यसप्रति छुट्टै गर्व पनि लाग्थ्यो ।

रेडियोका लागि उनी निकै दुःख गरेर घन्टौं पहिले हिँडेको सुनाउँथे । उनको आवाज रेडियोमा बजाउने धोको पनि मैले पूरा गराएको थिएँ । फोनले राम्रो काम गरेको दिन उनकै आवाजमा समाचार रेकर्ड गराएर बजाएको खुशी पनि मसँग थियो । त्यही समाचार रेडियोमा उनी आफैं चाहिँ सुन्न पाउँदैनथे । कान्तिपुर छोडेपछि उनीसँग फोनमा कुरा गर्ने सिलसिला पनि छुट्न पुग्यो । उनीसँगका यस्ता अनेकन् सम्झना आज एकैपल्ट मानसपटलमा छचल्किएर भावुक बन्न पुगे । उनी बितेर गए । तर उनले हुम्लालाई काठमाडौंसँग जोड्न गरेको उबेलाको योगदान कहिल्यै मरेर जाने छैन ।

अति दुर्गम ठाउँमा बसेर अनेकन कष्ट र हन्डर खेप्दै देशको राजधानीलाई सूचनाको पुलमार्फत् जोड्ने पत्रकार जयबहादुर रोकायाको सम्झनामा रुन पाउनु पनि उनको सहकर्मीको नाताले गर्वको कुरा हो ।

रोकाया दाइप्रति श्रद्धाञ्जलीसहित दुई थोपा आँसु चढाएपछि मन हलुका भयो ।

हाल : बोस्टन, अमेरिका

प्रकाशित : श्रावण १९, २०७७ १४:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×