कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुटपिटबाट रोल्पामा एकको मृत्यु, १४ पक्राउ

काशीराम डाँगी

रोल्पा — चोरी अभियोगमा स्थानीयले कुटपिट गर्दा रोल्पामा एक जनाको ज्यान गएको छ । रुन्टीगढी गाउँपालिका-६​ डुब्रीङ सालडाँडाका २८ वर्षीय ईश्वर बस्नेतको शनिबार कुटपिटबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

कुटपिटबाट रोल्पामा एकको मृत्यु, १४ पक्राउ

ईश्वरमाथि छिमेकी टेकबहादुर बुढाको घरमा लुटपाट गरेको आरोप लागेपछि स्थानीयले कुटपिट गरेका थिए । त्यसै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

ईश्वरले शुक्रबार साँझ ७ बजे लुटपाट गरेको खबर पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए। उनले टेक बहादुरको पाँच हजार र हातको घडी लुटेको आरोप छ। उक्त घटना गाउँमा सार्वजनिक भएपछि गाउँले जुटेर ईश्वरमाथि घेराबन्दी र कुटपिट गरेको प्रहरीले जनाएको छ।

त्यसपछि गाउँलेहरुसहित लुटिएका आफन्त आरोपित बस्नेतको घरमा राति पुगेका थिए । बस्नेत भाग्न खोजेपछि गाउँलेले उनलाई समातेर कुटपिट गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज प्रहरी निरीक्षक लेखनाथ चापागाईंले घटनाको अनुसन्धान जारी रहेको बताए । कुटपिटबाट गम्भीर घाइते भएका बस्‍नेतलाई कुटपिटमा संलग्नहरुले नै डुब्रीङस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गर्न पुर्‍याएका थिए । तर गम्भीर अवस्थाका ईश्वरलाई स्वास्थ्यकर्मीले दाङ रेफर गरे । थप उपचारका लागि दाङ लैजादै गर्दा शनिबार बिहान बाटोमै उनको मृत्यु भएको चापगाईंले बताए ।

कुटपिटमा संलग्न रहेको आशंकामा स्थानीय १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक गुरुङले घटनाको यथार्थ अनुसन्धान गर्न प्रहरी टोली खटिएको बताए ।

प्रकाशित : श्रावण १७, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?