कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

सिद्धार्थ राजमार्गमा पर्ने दोभान र झुम्सामा सडक भासियो

माधव अर्याल

पाल्पा — केही दिनयता परेको अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ दोभान बजार नजिकै सडक भासिएको छ । झण्डै ३० मिटर लम्बाइमा तिनाउ खोलातर्फ सडक भासिएको हो । वर्षा भइरहेको र चार दिनयता भासिन सुरु गरेको स्थानीय विष्णु प्रसाद पाण्डेयले बताए ।

सिद्धार्थ राजमार्गमा पर्ने दोभान र झुम्सामा सडक भासियो

पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत दोभान बजार नजिकै सडक केही दिनयता भासिन सुरु गरेको हो । सडक चिरा परेर तिनाउ खोलातर्फ भासिएको छ । तीन दिन अघि समान्य चिरा परेको सडक शनिबार थप भासिन सुरु गरेपछि जिल्ला प्रशासन कार्यालयले ठूला सवारी साधन संचालनमा रोक लगाएको छ । साना सवारी साधन चलाउन मिल्ने गरी ठाउँ रहेको तर ठूला सवारी साधनलाई समस्या भएकाले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘सूचना नै जारी गरेर ठूला सवारी साधनलाई अर्को सूचना नभएसम्मका लागि हिँड्न रोक लगाइएको छ,’ उनले भने ।

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले शनिबार बेलुकीसम्म मेसिन झरेर आइतबार बिहानदेखि वैकल्पिक मार्गको काम हुने र दोहोरो यातायात संचालन हुने बताए ।

पाल्पा–बुटवल सडककै तिनाउ–३ झुम्सा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ । यही स्थानमा चार वर्षअघि पनि राजमार्ग क्षतविक्षत हुनेगरी भासिएको हो । माथिल्लो भागमा कंचन कोइरिज (चुनढुंगा उद्योग) मा जाने सडक खनेपछि नै यस भेगमा सडक भासिन सुरु भएको हो । स्थानीय कृष्णप्रसाद पाण्डेयका अनुसार वर्षौदेखि जोखिम रहेपनि सडक डिभिजनले वेवास्ता गर्दा अहिले पुनः भासिन लागेको हो । ठूला सवारी साधन आवातजावातमा समस्या देखिन थालेको उनले बताए । प्रशासनले पनि राजमार्गको अवस्थालाई मध्यनजर गर्दै शनिबार राजमार्गमा ठूला हेभी लोड सवारी साधन संचालनमा रोक लगाएको प्रहरी उपरीक्षक दीपकराज खरेलले बताए ।

ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नभएकाले रोक्नु परेको उनले बताए । हलुका सवारी साधन चल्न समस्या छैन । भासिएको ठाउँमा जोखिम रहेकोले हलुका सवारीबाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको प्रशासनले जनाएको छ । अर्को सूचना जारी नहुँदासम्म शनिबार दिउँसोदेखि नै ठूला सवारी सञ्चालन गर्न दिइएको छैन । वैकल्पिक उपाय खोजेर सवारी साधन सञ्चालन गर्न प्रशासनले सुझाएको छ । ‘सडक डिभिजनले वैकल्पिक व्यवस्थापनका लागि प्रयास गरेको छ,’ प्रजिअ न्यौपानेले भने, ‘अहिलेलाई पहिरो र भासिएको ठाउँमा जोखिम छ ।’

प्रशासनले मालबाहक ट्रक, बससहितका ठूला सवारी साधन राजमार्गमा अर्को सूचना नभएसम्म नचलाउन आग्रह गरिसकेको छ । यसैगरी २४ माइलमा पनि सडक भासिएको छ । ३० मिटर जति सडक यहाँ पनि खोलातर्फ भासिएको छ । केही दिनयता यहाँ पनि एकतर्फि सडक संचालन भएको छ । पहाडबाट तराई र तराईबाट पहाड जाने सिद्धार्थ राजमार्गको पाल्पादेखि बुटवलसम्म ठाउँमा सडक भासिने समस्या छ ।

बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, कास्की, म्याग्दी, मुस्ताङ जानका लागि यही सडक छोटो पर्छ । लकडाउनको समयमा पनि यही सडक भएर दैनिक हजार बढी सवारी साधन संचालन हुँदै आएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?