कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा स्थानीयले भत्काए पार्कमा निर्मित संरचना 

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ दर्बहवा क्षेत्रका स्थानीयले पालिकाद्वारा निर्माणाधीन ग्रीन पार्कको संरचना भत्काइदिएका छन् । दशकौंदेखि मसानघाट र छठघाटका रुपमा प्रयोग भइरहेको दर्बहवामा पालिकाले बाल उद्यानसहितको पार्क बनाउन थालेको भन्दै आक्रोशित स्थानीयले शुक्रबार पार्कस्थलको पर्खालमा क्षति पुर्‍याएका हुन् । 

रुपन्देहीमा स्थानीयले भत्काए पार्कमा निर्मित संरचना 

बाउबाजेका पालादेखि अन्त्येष्टी गर्ने र स्थानीय महिलाले छठ पूजा गर्ने घाटमा गाउँलेसँग सरसल्लाह नै नगरी लकडाउको मौकामा पर्खाल लगाइ घेराउ गरेको स्थानीयको आरोप छ । पालिकाले मसानघाटका लागि सोही स्थानमा ५ कट्ठा जग्गा छुट्याइदिने बताए पनि अहिलेसम्म जग्गा नदिएको र धमाधम संरचना बनाउन थालेपछि आफूहरुलाई असहृय भएको एक स्थानीयले बताए । ‘पालिकाले पार्क बनाउनेबित्तिकै विगतदेखि चलिआएका सबै परम्परा, कार्यक्रम नहुने भए’, उनले भने, ‘ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गर्दासमेत वास्ता नगरेपछि संरचना भत्काइएका हौं ।’ उनले भने । पालिकाले जग्गा दिने विषयमा हुन्छ, हुन्छ, भन्ने तर कहाँ, कसरी, के भन्ने टुंगो नलगाएपछि पार्क बनाउने अनि बिचल्ली पार्नेतर्फ अघि बढेकाले उचित निर्णय नगरुन्जेल विरोध, आन्दोलन जारी राख्ने र संरचना निर्माणमा रोक लगाउने अर्का स्थानीयले बताए ।

एउटै स्थानमा धेरै धार्मिक कार्य भइरहेको प्रति पालिकाले ध्यान नदिइ आफ्नो भवन अगाडि संरचना बनाएर विकास गरेको देखाउने बहानामा मसानघाट मासिदिएको उनीहरुको गुनासो छ । पालिकाले भने बस्ती बढ्दै गएको स्थानमा दाहसंस्कार गर्ने थलो रहँदा धुँवा र गन्धले असर गर्ने भएकाले मसानघाटलाई अन्यत्र सारी त्यहाँ हरियाली पार्क बनाउने निर्णय गरेको जनाएको छ ।

‘अर्को ठाउँमा मसानघाट बनाउनका लागि २० लाख रुपैयाँ विनियोजन समेत गरेका छौं,’ पालिका अध्यक्ष किसुन चन्द्र चौधरीले भने, ‘पर्खाल तोडफोड गर्ने काममा कांग्रेसले अगुवाई गरेको हो ।’ पार्क निर्माणस्थलमा पालिकाले डेढ करोड लगानी गरेको भन्दै उनले यस्तो निन्दनीय कार्य गर्नेलाई नेपालको कानुन अनुसार कारबाही गरिने जनाए । भत्किएको संरचनामा ३० लाख रुपैयाँ खर्च भइसकेको चौधरीले बताए ।


स्थानीयले पटकपटक विरोध गर्दासमेत आफूहरुको कुरा सुनुवाई नभएपछि नेपाली कांग्रेस शुद्धोधन गाउँपालिकाको सहयोगमा पालिकामा साउन ७ गते ध्यानाकर्षण गर्दै विज्ञप्ती बुझाएका थिए । विज्ञप्ती आए लगत्तै पालिकाले सोही वडाका अध्यक्ष पुण्यराम गौतमको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति बनाइ स्थानीयको प्रतिनिधित्व गर्ने कांग्रेसबाट ३ सदस्यीय टोलीलाई वार्तामा आउन पत्र पठाएको थियो । जसअनुरुप बिहीबार सुरु भएको वार्ता नसकिएपछि पुन: शुक्रबार बसेको हो । तर वार्ता हुँदाहुँदै संयोजक गौतम वार्तास्थलबाट उठेर गएको र पार्क निर्माणस्थल बाहिर रहेका ४ सय बढी स्थानीयको कुरा नसुनी हिँडेकाले स्थानीय आक्रोशित बनेका थिए । संयोजक आउने पर्खाईमा ५ घन्टासम्म पर्खँदासमेत नआएपछि एकातर्फको पर्खाल भत्काइदिएको स्थानीयले बताए ।

शुक्रबार भएको घटनाप्रति नेपाली कांग्रेस शुद्धोधन गाउँपालिकाले ध्यानाकर्षणपत्र जारी गरेको छ । पत्रमा भनिएको छ, ‘धार्मिक तथा सांस्कृतिक स्थल दर्बहवामा जनताले परापूर्वदेखि अन्त्येष्टी कर्म सम्पन्न गर्न मसानघाटको रुपमा प्रयोग भएको स्थान बचाउनका लागि स्थानीयले पालिका र वडा कार्यालयमा अनुरोध गरेको सर्वविदितै छ । वडा कार्यालय र पालिकामा पटकपटक घेराउ गर्दासमेत वास्ता नगरेपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को धारा ५१(ग २)बमोजिम ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र विकासका लागि संघीयदेखि स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने र जनताको माग बमोजिम पुरानो अन्त्येष्टिस्थल व्यवस्थित गर्न माग गर्दछौं ।

यता सम्पूर्ण क्षति गाउँपालिकाले नै व्यहोर्नुपर्ने माग कांग्रेसले राखेको छ । शुक्रबार नै वडा नम्बर ५ को कार्यालय र गाउँपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी समेत गरिदिएका छन् । यस विषयमा स्थानीयले पहिलेदेखि नै विरोध गर्दै आएका थिए ।

प्रकाशित : श्रावण १७, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?