पहिरोले बुटवलका ३ परिवार विस्थापित- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले बुटवलका ३ परिवार विस्थापित

अमृता अनमोल

बुटवल — लगातारको वर्षाले बुटवल उपमहानगरपालिका–४ को गैरीगाँउ क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । 

वर्षाले लक्ष्मीनगर, गैरीगाउँ र लक्ष्मीपार्क माथिको चुरे पहाड खसेपछि गैरीगाउँको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले गैरीगाउँका ३ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको सामुदायिक भवनमा सारेको बुटवल–४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले बताए । उनका अनुसार गैरीगाउँका २० घर पहिरोको उच्च जोखिममा छन् । उनीहरुलाई सचेत रहन आग्रह गरिएको छ । पानी बढ्दै गए राति २० घरलाई पनि सामुदायिक भवनमै सार्ने उनले बताए ।


चुरेबाट भेल लिएर आएको सुखौरा खोलाले दर्जन रुख ढालेपछि धार परिवर्तन हुँदा गैरीगाउँ माथि पहिरो खरेको छ । पहिरो खसेको क्षेत्रमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अनुगमन गरेका छन् । वडा अध्यक्ष पराजुलीले तत्काल पहिरो नियन्त्रण र खोलाको धार पुरानै बहाव क्षेत्रमा जाने बनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको बताए । खोलाको धार पुरानो क्षेत्रमा फर्काउन नसके गैरीगाउँ हुँदै त्यसले आदर्शनगरलाई समेत असर गर्ने विज्ञहरुले बताएका छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

हाम्रो अभियान महाधिवेशनसम्मै जान्छ : पौडेल

'सभापतिमा हाम्रो एकैजना उम्मेदवार हुन्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान मिच्दै गएकाले त्यसको प्रतिरोध गर्नु परेको बताएका छन् । सभापति देउवलाई असहमति पत्र बुझाएर पार्टी कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रतिरोध अभियान १४ औं महाधिवेशनसम्म जारी रहने पनि बताए । बिहीबार बिहान पौडेल र महामन्त्री शशांक कोइरालाले हस्ताक्षर गरेको असहमतिपत्र बुझाइएको थियो । 

फागुनमा हुनेगरी महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति देउवाले विधान विपरित पार्टीका विभागहरुमा मनोनयन गरेको भन्दै पौडेल पक्षले असनतुष्टि जाहेर गर्दै आएको थियो । बुधबार बैठक गरेर नै सभापतिसँग समय मागी बिहीबार लिखि पत्र बुझाइएको हो । पाँच बुँदे पत्रमा विधान विपरित विभागहरु गठन र मनोनयन गरिएको, कृयाशील सदस्यता वितरणमा प्रक्रिया पुगेकालाई पनि नदिने र अर्को पार्टीबाट आएकालाई यति हजार भन्दै हचुवाका भरमा कृयाशील सदस्यता बाँड्न खोजिएको, स्थानीय तह समायोजन, भातृ तथा शुभेच्छुक संस्थालाई निष्कृय बनाइएको र विदेश स्थित जनसम्पर्क समितिको विषय उठाइएको छ ।

पत्रकार सम्मेलनमा नेता पौडेलले पार्टीमा आन्तरिक लोकतन्त्रको उल्लंघन गरिएको र सभापतिले नै महाधिवेश प्रभावित पार्नेगरी कदम चलेकाले आफूहरुले विरोध जनाएको बताएका थिए । पत्रकारहरुले सोधेको प्रश्नमा उनले आफूहरुले सहमतिमा सभापतिको उम्मेदवार टुंग्याउने र आफूहरुको एकजनामात्रै उम्मेदवार हुने बताएका थिए । पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंहलगायतका नेताहरु उपस्थित थिए ।

प्रकाशित : श्रावण १५, २०७७ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×