कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दश घन्टापछि एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

माधव अर्याल

पाल्पा — झन्डै तीन मिटर सडक भासिएपछि सोमबार बिहान साढे ४ बजेबाट अवरुद्ध सिद्धार्थ राजमार्ग दश घण्टापछि एकतर्फी खुलेको छ । राजमार्गको तिनाउ गाउँपालिका–३ नागमन्दिर नजिकै सडकै भासिने गरी पहिरो खस्दा राजमार्गको तीन मिटर क्षेत्र बगाएको छ । 

दश घन्टापछि एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

दोभान प्रहरी चौकीदेखि करिब एक किलोमिटर पाँच सय मिटर अगाडि नागमन्दिर नजिकैको पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए । ‘सडक भासिए पनि ढुंगा राखेर डाइभर्सन गरिएको छ,’ उनले भने, ‘ठूला सवारी साधन गुडाउन समस्या हुन्छ कि भन्ने डर छ ।’ यही स्थानमा दुई वर्षअघि पनि सडक भासिने गरी पहिरो खसेको थियो । सडक डिभिजनले एक करोड बढी खर्च गरेर जाली भर्ने, वाल लगाउने कार्य गरेको थियो ।

यस वर्ष पुनः पहिरो खसेर माथिल्लो भागको जाली र तल्लो भागको पर्खालसमेत बगाएको छ । रामापिथेकस पार्कदेखि सय मिटर अगाडिसमेत पहिरो खस्दा सडक भासिएको छ । यही स्थानमा यसअघि झन्डै ५ करोड खर्च गरेर तिनाउ खोलादेखि नै रोकथाम गरिएको थियो । सडक डिभिजनले काम गरेपनि पुनः सोही स्थानमा सडक भासिएको हो ।

यस्तै सिद्धबाबा नजिकै पनि सडक भासिने गरी पहिरो खसेको छ । ‘दुई तर्फी सञ्चालनका लागि सडकमै खटिएका छौं,’ दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले भने, ‘दुई वटा डोजरले काम गरिरहेका छन् ।’ राजमार्गकै भूतखोला नजिकै भासिएको सडक तीन वर्षदेखि सडक डिभिजनले बनाएको छैन । रोकथाम गरेपनि सडक भासिएको स्थानमा सवारी साधनको ओहोरदोहोरमा समस्या छ । पानी मिल नजिकै ५० मिटर सडक भासिएको छ । यस्तै चौबिस माइल नजिकैसमेत सडक भासिएको छ । झन्डै ६० मिटर लम्बाइमा सडक भासिएको छ । जोखिम बढेपछि ढुंगा राखेर सवारी साधन एकतर्फी बनाइएको छ ।

वर्षाले तराईबाट पहाड जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । माथिल्लो सिद्धबाबा नजिकको खोल्सामा पनि माथिल्लो भागबाट ठूल्ठूला ढुंगासहितको खसेको छ । सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल साथै बुटवलबाट पाल्पा स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र म्याग्दीतर्फबाट बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाउन थालिएको प्रहरी सहायक निरीक्षक भुसालले बताए । उनका अनुसार मिलाएर सवारी साधनलाई पठाइएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?