कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन हटाइएपछि लिबाङमा चहलपहल

काशीराम डाँगी

रोल्पा — असार ३ गतेदेखि रोल्पा सदरमुकाम लिबाङमा लगाइएको लकडाउन शुक्रबारदेखि स्थगित भएपछि चहलपहल बढेको छ । एकै दिन १३ जनामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले लकडाउन गरेको थियो । 

लकडाउन हटाइएपछि लिबाङमा चहलपहल

शंकास्पद व्यक्तिहरुको पीसीआर नतिजा नकारात्मक देखिएपछि सदरमुकाममा लगाइएको लकडाउन स्थगित गर्ने निर्णय शुक्रबारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको हो । एक सातादेखि लगाइएको बन्दाबन्दी अन्त्यपछि स्थानीय बजार खुलेका छन् भने यातायातका साधन चल्न थालेका छन् । सिल गरिएका दुई वटा गाउँमा चलहपहल सुरु भएको छ । तर प्रशासनले शैक्षिक संस्था, ठूला उद्योग संचालन, खेलकुद आयोजना तथा भेला हुने खोलाका धार्मिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक गतिविधिमा भने रोक लगाएको छ ।

कोरोना संक्रमण फैलिएको भन्दै प्रशासनले ती दुई गाउँका करिब ५ सय जनालाई घरमै बस्न एक साताअघिदेखि निर्देशन जारी गरेको थियो ।

विदेशबाट आएकामा पीसीआर परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएपछि ती दुई गाउँसँगै सदरमुकाममा लकडाउन गरिएको थियो । लिबाङमा आपतकालीनबाहेक सबै गतिविधिमाथि रोक लगाइएको थियो । ‘शंकास्पद व्यक्तिको पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएपछि लकडाउन फिर्ता गरिएको हो’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने । कोरोना संक्रमित १३ जनाको प्रत्यक्ष सम्पर्कमा आएका विश्वास गरिएको अन्य २० जनाको पीसीआर परीक्षण गर्दा नतिजा नकारात्मक भएपछि अवस्था सहज बनाइएको प्रशासनले जनाएको छ । गुरुङ गाउँका एक जना र धबाङका १२ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल सबैलाई चिकित्सकको हेरचाहमा आइसोलेसनमा राखिएको छ ।

हालसम्म रोल्पामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : श्रावण ९, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?