बालीभरि सलह, थाल ठटाउँदै प्युठानका किसान- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालीभरि सलह, थाल ठटाउँदै प्युठानका किसान

गिरुप्रसाद भण्डारी

प्युठान — आइतबार दाङ हुँदै प्युठान पसेको सलह किराले किसानको बालीनाली नोक्सान गर्न थालेको छ । सरुमारानी गाउँपालिका हुँदै माण्डवी गाउँपालिकाको रम्दी, चेरनेटा आसपास वास बसेको सलह सोमबार बिहानैबाट प्युठान नगरपालिकाका किसानको खेतबारीमा प्रवेश गरेको हो ।

प्युठान नगरपालिका क्षेत्रमा मकै बालीमा पसेको सलह धपाउँदै स्थानीय । तस्बिर : गिरुप्रसाद भण्डारी 

किसानहरूले धुवाँ लगाउने, थाल–टिन ठटाउने गरे पनि सलह भागेका छैनन् । लाखौंको संख्यामा रहेकाले भगाउन नसकिएको प्युठान नगरपालिका–२ गिरबहादुर धामीले बताए । उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ । ‘खेतबारी नै ढाक्ने गरी बसेका छन्,’ उनले भने, ‘हाम्रो केही उपाय लागेन ।’

नगरपालिकाका १० वटै वडामा सोमबार बिहानैदेखि सलहले नोक्सान गर्न थालेकाले किसान चिन्तित भएको मेयर अर्जुनकुमार कक्षपतिको भनाइ छ ।


प्युठानमा ८/१० लाखको संख्यामा सलह आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका निमित्त प्रमुख सुमन खनालले बताए । ‘सलहले धेरै नोक्सानी गर्ने आकलन गरेर स्थानीय तहका कृषि शाखाहरूमा सतर्क हुन आग्रह गरिएको छ,’ उनले भने । साताअघि पनि सलहको झुन्डले सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिका क्षेत्रका मकै बालीमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित : असार २९, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठान पुग्यो सलहको झुन्ड

गिरुप्रसाद भण्डारी

प्यूठान — आइतबार फेरि नेपाल प्रवेश गरेको सलहको झुन्ड दाङ हुँदै प्यूठान प्रवेश गरेको छ । सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसान रामबहादुर सोमैले बताए ।

प्यूठानको गौमुखी गाउँपालिका–२ सवरामा एक साता पहिले सलहले खाएको मकैबाली । तस्बिरःगिरुप्रसाद भण्डारी/कान्तिपुर

उनका अनुसार माडी नदी किनारै किनार सलह माण्डबी गाउँपालिकातर्फ लागेको छ । आकाशमा सलह देख्‍नासाथ किशानहरुले खेतबारीमा गएर भाँडा ठटाएर र आगो बालेर धुँवा निकालेर सलह भगाउन थालेका थिए ।

करिब एक साताअघि आएको सलहले जिल्लाको सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिका क्षेत्रका किसानको मकै बालीमा क्षति पुर्‍याएको थियो । फेरी सलहको ठूलो झुन्ड भित्रिएपछि कृषि बाली सखाप पार्ने भन्दै प्यूठानका किसान चिन्तित छन् ।

प्रकाशित : असार २८, २०७७ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×