कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी नदीको बहाव खतरा नजिक

नवीन पौडेल

परासी — नारायणी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार दिउँसो २ बजे पानीको बहाव बढेर १० दशमलव ४५ मिटर पुगेको छ । जुन खतराको नजिक हो । ११ मिटरपछि खतरा मानिन्छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ । 

नारायणी नदीको बहाव खतरा नजिक

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको र खतराको संकेत नजिक पुगेकाले सजग रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । सम्भावित दुघर्टनालाई मध्यनजर गर्दै जिल्लामा उद्धार र व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ ।

गण्डक ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने काम भारतीय पक्षले गर्ने भएकाले नेपालतर्फ डुबान हुन सक्ने सम्भावना छ । ‘गण्डक ब्यारेजको थप ढोका खोल्ने बारे नेपालका तर्फबाट भूआर्जन अधिकृतमार्फत भारतीय पक्षलाई जानकारी गराइएको छ । ‘पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने,‘खतराको लेबलमा पुगेको छैन् । तर खतरा नजिक भएकाले सबैलाई सजग हुन आग्रह गरिएको छ ।’ समयमा सजगता अपनाउन नसके गण्डक क्षेत्रमा पर्ने सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका तटिय क्षेत्र डुबानमा पर्ने सम्भावना छ ।

गण्डक ब्यारेजका भूआर्जन(लाइजन अफिसर) तारा सिहंका अनुसार अहिले १ लाख ६५ हजारप्रति क्युसेक पानीको बहाव रहेको बताए । ब्यारेजको क्षमता तीन लाख क्युसेकभन्दा माथि भएकाले सचेत हुन आग्रह गरेका छन् । ब्यारेजमा ३६ वटा ढोका छन् ।

जिल्लामा रहेका खहरे खोलाहरुमा पनि पानीको बहाब बढेको छ । झरही खोला, तुरिया र पानभारमा पनि पानीको सतह हृवात्तै बढेको छ ।

प्रकाशित : असार २६, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?