अतिक्रमण हटाउन गएको बर्दिया निकुञ्जको टोली र स्थानीयबीच झडप

ठाकुरसिंह थारु

बर्दिया — बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा अतिक्रमित बस्ती हटाउन गएका निकुञ्ज कर्मचारी र स्थानीयबीच बिहीबार झडप भएको छ । बिहीबार बिहानै बस्ती हटाउन निकुञ्जको टोली पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै ५४ वटा घर हटाउने तयारी गरेको छ । स्थानीयले भने आफूहरू वर्षौंदेखि त्यहीँ बस्दै आएकाले नहट्ने अडान लिएका छन् ।

स्थानीय र निकुञ्जको टोलीबीच अहिले पनि झडप जारी रहेको वडाध्यक्ष राधा चौधरीले बताइन् । ‘निकुञ्जले हरेक दिन स्थानीयलाई पक्रेर लैजाने र सादा कागजमा सही गराउने गर्थ्यो,’ उनले भनिन्, ‘आज पनि दुई जनालाई पक्रेर लैजान खोजेपछि झडप भएको हो ।’

निकुञ्जका वार्डेन अणनाथ बरालले भने अतिक्रमित बस्ती भएकाले हटाउन कर्मचारी खटाइएको बताए । ‘बस्ती खालि गरेरै छाड्छौं,’ उनले भने ।

प्रकाशित : असार २५, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

ब्राजिलको त्यो हार ‘घोचपेच’

एएफपी

रियो दी जेनेरियो — ब्राजिलले विश्वकप सेमिफाइनलमा जर्मनीको हातबाट आफ्नै घरमा बेहोरेको ७–१ को हार अब समयका आधारमा ६ वर्ष भइसकेको छ । विश्व फुटबलमा ब्राजिलका लागि त्यो अहिलेसम्मकै सर्वाधिक खराब हार थियो । 

अब भने यो कसैका लागि रिस पोख्ने निहुँ भएको छ अनि कसैलाई ख्यालठट्टा गर्ने बहाना । अझ केहीका लागि त यो घोचपेच गर्ने संस्कृति हुन थालेको छ । स्कोर आफैं शब्दावली जस्तो भएको छ ।

यो बिर्सनलायक हार कसैका लागि मानसिक र शारीरिक आघात पुग्नुको व्याख्या गर्ने शब्दावली भएको हो । जस्तो, ‘उनीहरूले हामीलाई ७–१ नै गरे’, वा ‘यो त ७–१ नै भयो ।’ यो कुनै ठूलो जित वा उपलब्धिका लागि पनि प्रयोग गरिन थालेको छ । सन् २०१४ को जुलाई ८ को दिन ब्राजिलले विश्वकप आयोजकका रूपमा जर्मनीको सामना गरेको थियो । खेल बेलो होरिजेन्टोको मिनेरियो स्टेडियममा भएको थियो । खेलअगाडि पूरा देश टिमको समर्थनमा उत्रिएको थियो ।

तर भइदियो के भने पाँचपल्टको विश्वकप विजेता टिमले आफ्नो इतिहासकै सबैभन्दा ठूलो अन्तरको हार सामना गर्नुपर्‍यो । फेरि यो विश्वकप जितिसकेका टिमले कुनै पनि संस्करणमा बेहोरेको सबैभन्दा ठूलो हार रह्यो । यो खेलपछि स्कोर मात्र कसैका लागि आफ्नो भावना पोख्ने आधार भएको छैन । यसले त ब्राजिली समाजकै एकप्रकारको उखानटुक्का भएको छ । जस्तो लगातार केही दोहोरिएर भइरह्यो भने ब्राजिलीले अचेल भन्ने गर्छन्, ‘र, एक अर्को जर्मन गोल’ ।

अथवा ‘के यो अर्को जर्मन गोल हो त ?’ यसलाई अब गज्जबको भावना पोख्ने आधार भने हुन्छ या ‘डार्क ह्युमर’ । त्यो त फुटबलमा ब्राजिलले यसअघि यस्तै पीडादायी हारको नतिजा नबेहोरेको पनि होइन । अरू धेरै उदाहरण छन्, जसमा ब्राजिलले फुटबलका कारण धेरै दुःख सामना गर्नुपरेको छ । जस्तै, सन् १९५० को विश्वकप । ब्राजिलले पहिलोपल्ट आयोजना गरेको यो नै पहिलो विश्वकप हो । त्यसको निर्णायक र फाइनल मान्न सकिने खेलमा ब्राजिल उरुग्वेसँग २–१ ले पराजित भयो ।

त्यतिबेला पनि एक शब्द बनेको थियो ‘मोराकान्जो’ । त्यो खेल माराकाना स्टेडियममा भएको थियो, त्यसैले यो शब्द पनि जुरेको थियो । यसले पनि अथाह पीडाको बयान गर्थ्यो । जर्मनीविरुद्धको हारपछि उत्पन्न शब्दले भने पीडा बयान गर्दैन, बरु यसपछि जन्मेका शब्द कसैलाई उडाउन प्रयोग हुन थालेको छ । त्यो सेमिफाइनल हारपछि प्रशिक्षक लुइस फिलिप स्कोलारी, सेन्टर ब्याक डेविड लुइज, मिडफिल्डर फर्डिनान्डिन्हो र ओस्कर, फरवार्ड हल्क र फ्रेडलाई उडाउने काम पनि भएका थिए ।

त्यो खेलका यिनै त प्रमुख पात्र थिए । अझ भनौं खलनायक । खेलको पहिलो हाफमै ब्राजिल ५–० ले पछाडि थियो र जर्मनीका लागि टोनी क्रुसले दुई गोल गरेका थिए भने थोमस मुलर, मिरोस्लाभ क्लोज र सामी खडिराले १–१ गोल गरेका थिए । दोस्रो हाफमा आन्द्रे सुरलले दुई गोल गरे । खेलको ९० औं मिनेटमा ब्राजिल कम्तीमा एक गोल फर्काउन भने सफल रह्यो । त्यो गोल थियो ओस्करको नाममा । तर त्यो सान्त्वना गोल न थियो ।

त्यो खेलको ५ दिनपछि जर्मनीले विश्वकप पनि जितेको थियो । त्यो जर्मनीले जितेको चौथो विश्वकप रह्यो । फाइनल माराकानामा भएको थियो । जर्मनीले अर्जेन्टिनालाई १–० ले हराएको थियो । दुःख के तथ्यमा छ भने धेरैले त्यो विश्वकप जर्मनीले जितेको भन्दा पनि सेमिफाइनलमा त्यही जर्मनीले ब्राजिललाई कसैले नचिताएको स्कोरमा हराएको तथ्य सम्झने गर्छन् । यो त जर्मनीका लागि पनि पीडा भइहाल्यो, ब्राजिलका लागि त झन् धेरै पीडा ।

प्रकाशित : असार २५, २०७७ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×