गोरुसि‌ंगे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक ८ घण्टा बन्द

सन्जु पौडेल

तिलोत्तमा (रुपन्देही) — अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडकखण्ड स्तरोन्नति गर्न बुधबारदेखि दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । सन्धिखर्कको फुदवाङदेखि नरपानीसम्म १३ किलोमिटर सडक बिहान ८ देखि १२ बजे र दिउँसो २ देखि ६ बजेसम्म बन्द हुने भएको हो । 

‘दिनमा दुईपटक चार–चार घण्टाका दरले आठ घण्टा उक्त सडकखण्ड बन्द गरेर काम गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, ‘अत्यावश्यकबाहेकका सवारीसाधन आवत–जावत पूर्ण रूपमा बन्द रहनेछ ।’

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती सडक स्तरोन्नति गर्न आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको उनले बताए । एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीलगायत अत्यावश्यक र संवेदनशील सवारीसाधन भने चल्न दिने बैठकको निर्णय छ ।

प्रकाशित : असार २४, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा थप सात संक्रमित निको भए

प्रकाश बराल

बागलुङ — धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमित बुधबार डिस्चार्ज भएका छन् ।

दुई साताअघि संक्रमण पुष्टि भएर अस्पताल पठाइएका उनीहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनीहरूलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

डिस्चार्ज हुने सबै काठेखोला गाउँपालिकाका हुन् । डिस्चार्ज हुनेमध्ये ४ जना क्वारेन्टाइनमा बस्दा संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने ३ जना क्वारेन्टाइनबाहिरै संक्रमणमा परेका थिए । क्वारेन्टाइनमा खाना पठाउने, सुरक्षा गार्डका रूपमा बसेकाहरू संक्रमित भएका थिए । क्वारेन्टाइनबाहिर संक्रमित भएका अर्का एक जना आइसोलेसनमै छन् ।

जिल्लामा अहिलेसम्म २ सय ११ जना कोरोना संक्रमित छन् । तीमध्ये १ सय २२ जना डिस्चार्ज भएका छन् । अब ८९ जना आइसोलेसनमा छन् ।

प्रकाशित : असार २४, २०७७ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×