कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्ते गरेको आरोपमा घोराही उपमहानगरपालिकाका दुई कर्मचारी पक्राउ

दुर्गालाल केसी

दाङ — लिखत किर्ते गरेको अभियोगमा सोमबार घोराही उपमहानगरपालिकाका दुई कर्मचारी पक्राउ परेका छन् । जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मणिकुमार पुनलाई बढी सजाय गराउने मनसायले मुद्दाकी पीडितको उमेर घटाउन किर्ते कागजात बनाएको पुष्टि भएपछि दुई कर्मचारीसहित अर्का एकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

किर्ते गरेको आरोपमा घोराही उपमहानगरपालिकाका दुई कर्मचारी पक्राउ

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ तुरुन्तपुर घर भइ हाल घोराही–१३ वडा कार्यालयमा कार्यरत खरिदार ५४ वर्षीय लिलाजित नेपाली, घोराही–१८ रझेना घर भइ घोराही–१ को वडा सचिवमा कार्यरत ५५ वर्षीय धनबहादुर केसी र घोराही–१३ का ४९ वर्षीय हुकुमबहादुर जिसी रहेका छन् ।

जिल्ला अदालत घोराहीमा विचाराधिन जबर्जस्ती करणी मुद्दामा गलत कागजात पेस गर्न सघाएका कारण उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गत किर्ते गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रवक्ता डिएसपी सुमित खड्काले बताए । उनीहरुलाई सोमबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालेको उनले बताए ।

गाँजा खेती गर्ने एक पक्राउ

गाँजा खेती र कारोबार गरेको अभियोगमा तुलसीपुरमा सोमबार एकजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४१ वर्षीय टोपबहादुर भण्डारीलाई अवैधरुपमा गाँजा खेती र कारोबार गरेका कारण पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनलाई लुकाइछिपाइ राखेको २ किलो ५८० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए । भण्डारीले खेती गरेको १ सय ५० बोट गाँजासमेत नष्ट गरेको उनले जानकारी दिए ।


प्रकाशित : असार २२, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?