कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले च्याप्दा तीन मजदुर घाइते

माधव अर्याल

पाल्पा — मोटरबाटोमा रिटेनिङ वाल उठाउने क्रममा माथिबाट खसेको पहिरोले च्यापेर तानसेन नगरपालिका–७, सुन्दरगाउँमा सोमबार तीन मजदुर घाइते भएका छन् ।

रोल्पा घर भएका कामदारहरु १९ वर्षीय कमलाल बुढा, २५ वर्षीय भुपेन्द्र बुढा र १८ वर्षीय जुना रोक्का रहेको प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीले बताए ।

घाइतेहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको स्थानीय विनोदकुमार शर्माले जानकारी दिए । प्रहरीका अनुसार पहिरोमा ढुंगा नभएकाले ठूलो चोटपटक लाग्न नपाएकाले घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रकाशित : असार २२, २०७७ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा ‘साइकल क्रेज’

यात्राका लागि सजिलो साधनका रूपमा रहेको साइकललाई मोटरसाइकलले विस्थापित गरेजस्तो देखिन थाले पनि रूपन्देहीमा फेरि बिस्तारै यो पुरानो वाहनमा क्रेज बढ्दै छ । कुदाउनेहरू संगठित हुँदै ‘साइकल लेन’ पनि बनाइनुपर्छ भन्दै सरकारलाई सम्झाइरहेका छन् ।
सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — पुकार थापाको दैनिकी साइकल यात्राबाट सुरु हुन्छ । बुटवल–४ लक्ष्मीनगरका उनी बिहान ५ बजे उठ्छन् । ‘मुख धोएपछि साइकल लिएर निस्कन्छु,’ उनले भने, ‘यसैलाई स्वस्थ रहने माध्यम बनाएको छु ।’ बुटबलमा केही वर्षयता आधुनिक मोडलका साइकलका सोखिनको बढ्दो जमातबीच थापा एक्ला छैनन् । दिनदिनै साइकलमा घुम्न रुचाउने युवाको संख्या बढेको छ ।

रूपन्देही जिल्ला साइकल संघका सदस्य साइकल यात्रामा शनिबार लुम्बिनीतर्फ जाँदै । तस्बिर :सन्जु पौडेल/कान्तिपुर

सानै उमेरदेखि साइकल चलाउन मन पराउने थापाको रुचि बढ्नुको भने बेग्लै कारण छ । उनी यतिबेला साढे ४ लाख रुपैयाँ पर्ने माउन्टेन बाइक चढ्छन् । सन् २००९ मा पढ्नका लागि उनी बेलायत पुगेका थिए । त्यहाँ बस्दा साइकल चलाउने स्थानीयबाट प्रभावित भए, धेरै फाइदा मिल्ने जानकारी पनि पाए । अधिकांश बेलायती साइकल कुदाउन रुचाउँछन् ।

‘ट्राफिक जामको तनाव नहुने, साइकल लेनबाट कुदेपछि समयमै अफिस पुगिने,’ उनी भन्छन्, ‘दुई वर्षसम्म म पनि साइकल चलाएरै काममा गएँ ।’ त्यस्तो अनुभव सँगालेर सन् २०१२ मा स्वदेश फिरेका थापाले घर आएर साइकल किने । कुदाउन थाले । सुरुवातमा एक्लै थिए । बिस्तारै साथीहरूलाई पनि समूहमा जोडे । समूह ठूलो भएपछि थापाकै अगुवाइमा त्यसै वर्ष बुटवल साइकल क्लब गठन भयो ।

आबद्धता बढ्दै गएपछि थापाले क्लबलाई बुटवल बाइकर्स सिटीको नाम दिए । त्यसपछि सदस्य थप्दै अघि बढेको संस्थाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । संस्थामा आबद्ध सदस्य हरेक दिन बिहान जुट्छन्, एउटा गन्तव्य पहिल्याउने सल्लाह गर्छन् र गुड्छन् । पाँच वर्षदेखि जिल्लामा रूपन्देही जिल्ला साइकल संघ पनि छ, संघका अध्यक्ष पनि थापा नै हुन् । संघमा १८ भन्दा बढी क्रियाशील सदस्य छन् । अत्याधुनिक साइकलप्रति युवाहरूको मोह बढ्दै गएको देखेपछि थापाले साइकल पसल पनि चलाएका छन् । उनको परिवार २० वर्षदेखि फर्निचर व्यवसायमा संलग्न छ । तर उनमा साइकल क्रेज बढेपछि यसलाई व्यवसाय बनाएका हुन् । पसलमा २० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पर्ने साइकल छन् । डेढ वर्षको अवधिमा २५ भन्दा बढी साइकल बिक्री भएको उनले सुनाए ।

लकडाउनयता मात्रै उनले ९ वटा साइकल बेचिसकेको बताए । साइकल खरिद गर्ने स्थानीय नै बढी छन् । लकडाउनमा सिद्धार्थनगर, छिमेकी परासी जिल्ला र पश्चिममा सालझन्डीबाट समेत साइकल खरिद गर्ने ग्राहक आएको उनले बताए ।

केही वर्षअघि विश्व साइकल यात्री पुष्कर शाहको सम्मानमा आयोजित कार्यक्रममा सहभागी भएका बुटवलका धीरेन तुलाधरलाई साइकल चलाउन र आफ्नो पछिपछि साइकलमै कुद्ने साथीको भिडियो खिच्न औधी मन पर्छ । उनले साइकल चलाउन थालेको सात वर्ष भयो । ‘साइकलले ढाड दुखाइ, ग्यास्ट्रिक र घुँडा दुख्ने समस्या निको बनायो,’ उनले भने, ‘स्वास्थ्य राम्रो भएकै भएर यसप्रति झन् रुचि बढेको छ ।’ सुरुमा ४० हजार रुपैयाँको साइकल चढेका उनी अहिले एक लाखभन्दा बढी पर्ने ब्युब कम्पनीको साइकल चलाउँछन् । महँगो साइकल हेर्दा पनि राम्रो हुने र त्यसका विशेषतासमेत बढी हुने तुलाधरले बताए । पेसाले उनी इभेन्ट म्यानेजर हुन् । जिल्ला साइकल संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका तुलाधर साइकल राइड विकासका लागि संस्थागत रूपमा विभिन्न कार्यक्रम आयोजनामा अग्रपंक्तिमा भेटिन्छन् । उनीहरूले पर्यटनसँग जोड्ने गरी राइड टू रानीमहल, शान्ति र स्वास्थ्यसँगै नाराका साथ राइड टू लुम्बिनी, अन्यत्रबाट आएका साइकल राइडर्सलाई स्वागत तथा सम्मान, रक्तदानजस्ता कार्यक्रम गर्दै आएका छन् यसबाहेक बुटवल कोरा च्यारिटेबल च्यालेन्ज गरी संस्थाले विभिन्न ठाउँमा राहतसमेत प्रदान गरेको उनले बताए ।

बुटवलकी ४८ वर्षीया यकु थापा अहिले एक जिल्लाबाट अर्को जिल्ला साइकलमै यात्रा गर्छिन् । गुल्मीको भार्सेबाट बुटवल–१३, बेलबासमा बसोबास सुरु गरेपछि उनले साइकल चलाउन सिकिन् । कक्षा ८ मा पढ्दादेखि नै साइकल चलाएकी उनले यसलाई आफूबाट टाढा बनाइनन् । ‘अहिले पनि केही कामले हिँड्न परोस् या कहीं जाँदा साइकल यात्रा गर्ने समूह मिलेमा मजाले चलाउँछु,’ फुटबलकी पूर्वखेलाडीसमेत रहेकी थापाले भनिन्, ‘०७१ तिर बुटवलबाट गुल्मीको भार्सेसम्म साइकलमै पुगेर आएकी छु ।’ उनीसँग त्यति महँगो साइकल छैन तर जिल्लाबाट बाहिर जान परे साथीको मागेर उनी साइकल यात्रा गर्छिन् । साइकल चलाउने महिलालाई शारीरिक बनावट राम्रो राख्न र शरीरका सबै नसा चलायमान बनाउनसमेत साइकल राइड उपयुक्त माध्यम भएको थापाले बताइन् । सानो छँदा रमाइलो मानेर साइकल चढ्न सिकेकी उनी केही समयपछि अलि धेरै रकमको राम्रो साइकल चढेर हिँड्ने चाहनासँगै अघि बढेको बताउँछिन् ।

परम्परादेखि साइकल

स्वस्थ रहन बिहान हिँड्ने, योग गर्ने, जिमखाना जाने चलन छ । साइकल तराइका जिल्लाका लागि स्वस्थ रहन चलाउने भन्ने धारणा धेरै पछिमात्रै आएको हो । आउजाउ गर्न सजिलो साधान भएकाले तराइका जिल्लाका धेरैजसोका घरमा साइकल परम्परादेखि छन् । सामान ढुवानीका लागि साइकल धेरै प्रयोग हुन्छ । कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन घोषणा भएपछि सर्वसाधारणको यस्तो दैनिकी ठप्प भयो । लकडाउन खुकुलो भए पनि जनजीवन पूर्ववत् अवस्थामा फर्किसकेको छैन । आफूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न करसतलगायत गतिविधि आवश्यक छ । यस्तोमा विकल्पका रूपमा ‘साइक्लिङ’ देखिएको छ । शारीरिक रूपमा फिट हुने र जस्तोसुकै बन्दाबन्दीमा चलाउन पाइने भएकाले बालकदेखि प्रौढसम्मको रोजाइ साइकल बनेको हो ।

रूपन्देहीको सैनामैनामा सामुदायिक वनबाट साइकलमा घाँस लिएर घर फिर्दै स्थानीय

मुलुकमा चारपाङ्ग्रे सवारीसाधन नहुँदादेखि साइकल नै यातायातको साधन थियो । वर्षौंदेखि विभिन्न ब्रान्डका सस्ता साइकल उपलब्ध छन् । दैनिक कामकाजीले यी साइकल चलाउँछन् । नयाँ पुस्ता र स्वास्थ्यका लागि चढ्नेले माउन्टेन बाइक, डबल सस्पेन्सन साइकल, राइनो, बीएमएक्स, क्रोस, फोनिक्स, ट्रिक्स आदि ब्रान्डका चलाइरहेका छन् । रूपन्देहीमा अहिले व्यवसायी, खेलाडी, विद्यार्थी, सञ्चारकर्मी र वित्तीय कर्मचारीसमेत साइकल चलाएर स्वस्थ रहने अभियानमा छन् । तराईमा साइकल परम्परादेखि सर्वसाधारणको साथी हो । दशकौंदेखि यहाँका घरमा एउटा साइकल अनिवार्य हुने गथ्र्यो । पहिले सस्ता र सामान्य साइकल प्रयोग हुन्थे । अहिले समयअनुसार नयाँ र धेरै मूल्यका साइकल चलनचल्तीमा छन् । शारीरिक अभ्यासका लागि चलाउनेले अहिले २० हजारदेखि साढे ४ लाख रुपैयाँसम्मको साइकल चढिरहेका छन् । सामान्य आर्थिक अवस्था भएकाले ५ देखि ८ हजार रुपैयाँसम्मका साइकल चढ्ने गर्छन् । दैनिक मजदुरी गर्नेहरू साइकलमै टाढा–टाढा पुगेर काम गर्दै आएका छन् ।

तिलोत्तमाकी राधिका पाण्डे १६ वर्षदेखि साइकल चलाउँदै छिन् । श्रीमान्को असामयिक निधनपछि एक्लै घर व्यवहार धान्नुपर्ने भयो । ‘साइकल सिकेपछि छोराछोरीलाई घरमै छाडेर बाहिरी काममा निस्कन सहज भयो,’ उनले भनिन्, ‘बच्चा बिरामी पर्दा होस् या व्यावहारिक कामले बाहिर निस्कन पर्दा, साइकल साथी बनेको छ ।’ उनी अहिले तिलोत्तमा नगरपालिकामा कार्यालय सहयोगी छन् । ‘साइकल नजानेको भए जागिर खानसमेत समस्या पथ्र्यो,’ उनले भनिन् । घरको सबै काम सकेर समयमै कार्यालय पुग्न र कार्यालयले पठाएको कही स्थानमा समेत साइकलमा जाँदा सहज तरिकाले पुगिने र काम समयमै सम्पन्न हुने उनले बताइन् ।

रूपन्देहीको गैडहवाका ५२ वर्षीय नारद केवट र सैनामैनाका ४५ वर्षीय सुरेन्द्र रेग्मीको पेसा बिल्कुलै फरक छ । केवट किसान हुन् भने सुरेन्द्र ठेक्कापट्टाको काम गर्छन् । तर यी दुवैबीचको एउटा समानता छ । दुवैको दैनिकी करिब दुई दशकदेखि साइकलकै भरमा चलेको छ । केवट खेतमा फलेको तरकारी बजारसम्म लैजान साइकलको प्रयोग गर्छन् । ‘घरघरमा डुल्न, तरकारी बेच्न साइकलमा सहज भएको छ,’ उनले भने, ‘यो नहुँदो त गाउँबाट अन्त जानै सकिंदैन्थ्यो ।’ सुरेन्द्र पनि ठेक्काका काममा एक ठाउँदेखि अर्को ठाउँमा जाँदा साइकलमै जाने र यसले साथ दिइरहेको बताउँछन् ।

लामो समयदेखि बुटवल र भैरहवाका साइक्लिस्टले सहरमा साइकल चलाउन उपयुक्त पूर्वाधार निर्माणका लागि स्थानीय सरकारलाई दबाब पनि दिइरहेका छन् । त्यसका लागि बेलाबेलामा दबाबमूलक साइकल र्‍याली आयोजना गरिरहेका छन् । यस्तै माग राखेर बुटवलदेखि लुम्बिनीसम्म शान्ति साइकल यात्रा गरिएको छ । जिल्ला साइक्लिङ संघले साइकलमार्फत शान्ति र पर्यटनलाई जोड्ने र साइकलमैत्री पूर्वाधार निर्माणका लागि ध्यानाकर्षण गर्न साइकल र्‍याली आयोजना गरिएको संघका अध्यक्ष पुकार थापाले बताए । उक्त यात्रामा बुटवल, तिलोत्तमा, सैनामैना र तौलिहवाका गरी ४५ जना साइकलयात्री सहभागी थिए । उनीहरूले बुटवलबाट सैनामैना, रामापुर हुँदै बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर दीप प्रज्वलन गरेका थिए ।

प्रकाशित : असार २२, २०७७ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×