पीसीआर रिपोर्ट नआउँदा दुई महिनादेखि क्वारेन्टाइन र आइसोलेसनमै- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीआर रिपोर्ट नआउँदा दुई महिनादेखि क्वारेन्टाइन र आइसोलेसनमै

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका-४ खडकडेराका गोरबहादुर नेपाली भारतबाट प्यूठान आएको दुई महिना हुन थाल्यो । जेठ ३ गते आएका उनी नगरपालिकाले बिजुवारमा बनाएको कालिका विकास केन्द्रको आइसोलेसन सेन्टरमा छन् । सुरुमा माण्डबी गाउँपालिकास्थित लामाचौरको क्वारेन्टाइनमा बसेका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई नगरपालिकाको आइसोलेसन सेन्टरमा ल्याइएको हो ।

बिजुवारस्थित कालिका विकास केन्द्रको भवनमा नगरपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितहरु । तस्बिर : गिरुप्रसाद भण्डारी/कान्तिपुर 

यहाँ आएको शुक्रबार २१ दिन भएको उनले बताए । स्वास्थ्यमा कुनै समस्या छैन । तर उनको दोस्रो पटकको पीसीआर रिर्पोट नआएका कारण उनी घर जान पाएका छैनन् । ‘यहाँ स्वाब निकालेको समेत १३ दिन भो,’ उनले भने, ‘परीक्षण रिपोर्ट आउन एक साता लाग्छ भन्थे अझै आएन ।’ तीन वर्षको घरमा आएको उनले बताए । दुई महिनासम्म घरमा गएर परिवार भेट्न नपाउदा उनी निकै आक्रोशित छन् । ‘आइसोलेसनमा राखेपछि हामीलाइ भेट्न कोही पनि आउँदैनन्,’उनले भने, ‘कैदीझैं थुनिएर बसेका छौं ।’

चितिखोलाका अमरबहादुर पछाई पनि भारतको भुपालबाट घरमा आएको दुई महिना हुन थाल्यो । उनको पीडा पनि सुनारकै झैं छ । नगरपालिकामा सुरुमा संक्रमित भएकाहरुलाई कालिका विकास केन्द्रको भवनमा आइसोलेसन बनाएर राखिएको थियो । २ र ३ नम्बर वडाका १० जना संक्रमित यहाँको आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएपछि उनीहरु आइसोलेसनमा बसेको २१ दिन भएको छ । यस क्रममा लक्षण नदेखिएको र बिरामी पनि कोही नभएको उनीहरुले बताए । तर परीक्षण रिपोर्ट समयमै नआउँदा घर जान नपाएको भन्दै सबैजना आक्रोशित छन् ।

दोस्रो पटक स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट आउन भएको ढिलाइले गर्दा उनीहरुलाई घर पठाउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । ‘अन्यत्र बसेकाहरुलाई कोरोना परीक्षण रिपोर्ट आएको १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गरेका छौं,’ उनले भने, ‘यहाँकालाई पुन: परीक्षण गर्न खोज्दा ढिलाइ भएको हो ।’ उनीहरुको स्वाब दोस्रो पटक असार ६ गते निकालेर जिल्ला स्वास्थ्य कार्यालयमार्फत् भैरहवा पठाइएको घिमिरेले बताए । गत जेठ २४ गते सरकारले १४ दिन आइसोलेसनमा बिताएर लक्षण र बिरामी नभएकालाई घर पठाउने निर्देशिका लागू गरेपछि अन्यत्र निर्देशिकाअनुसार घरमा पठाउन थालेको घिमिरेले बताए ।

प्यूठानमा कुल संक्रमित ३ सय ४ जना छन् । यसमध्ये ३५ जना आइसोलेसनमा बसेर कोरोना जितेर घरमा गएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । २ सय ७९ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुश्कल श्रेष्ठले बताए ।

जिल्लाबाट पीसीआर परीक्षणको लागि स्वाब निकालेर राप्ती स्वास्थ्य प्रतिष्ठान दाङ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको ५९६ जनाको रिपोर्ट आउन बाँकी रहेको श्रेष्ठले बताए । जिल्लामा अझै ८ सय ५० जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : असार १९, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीको झुन्ड टुक्रिएर प्यूठान पुग्यो सलह,मकै बालीमा क्षति 

गिरुप्रसाद भण्डारी

प्यूठान — सोमबार साँझ रुपन्देहीमा हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड टुक्रिँदै बुधबार प्युठान पुगेको छ । भैरहवाबाट टुक्रिएर झुन्ड दाङ र अर्घाखाँची हुँदै बुधबार प्युठानभर फैलिएको छ ।

प्यूठानको सरुमारानी गाउँपालिका ३ हंसपुरमा सलहले मकैबालीमा गरेको नोक्सानी । तस्बिर सौजन्यः भिम मर्साङगी मगर 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रबाट मंलबार भित्रिएको सलह बुधबार जिल्लाका धेरै स्थानहरुमा फैलिएको बताए ।

जिल्लाको मल्लरानी, ऐरावती सरुमारानी,झिमरुक,गौंमुखी,नौंबहिनी गाउँपालिका र प्यूठान नगरपालिकामा फैलिएको छ । मंगलबार दिउँसो मल्लरानीमा प्रवेश गरेको झुन्ड सबै भन्दा ठूलो झुन्ड रहेको खनालले बताए । सलह प्यूठानमै बास बसेर बुधबार बिहानैबाट किसानहरुले लगाएको मकैबालीमा क्षति पुर्‍याउन थालेको खनालले जानकारी दिए ।

बुधबार बिहानैबाट सलहको झुन्डले मकै बालीमा नोक्सानी गर्न थालेको गौंमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । सलह मकैबालीमा पुगेपछि किसानहरुले झ्याली, बाजा,थाल, टिन ठटाएर भगाउने प्रयास थालेको गिरीले बताए । स्थानीयले बारीमा आगो बालेर धुँवा निकालेर भगाउने प्रयास गर्दा समेत सलहले नोक्सानी गर्न छाडेको छैन ।

मल्लरानी ३,प्यूठान नगरपालिका ९ र १०, झिमरुक १, ३, ४, सरुमारानी ३, गौंमुखी ३ नम्बर वडामा लाखौंको संख्यामा रहेको सलहले मकैबालीमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । नोक्सानीको विवरण लिने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । सलह नियन्त्रणका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको प्रजिअ पन्थले बताए ।

प्रकाशित : असार १७, २०७७ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×