कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शल्यक्रियामा लापरबाही गरेको भन्दै नेपालगन्जमा अस्पताल अगाडि धर्ना 

रुपा गहतराज

नेपालगन्ज — अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको अरोप लगाउँदै परिवारले बिहीबार अस्पताल परिसरमा प्रर्दशन गरेका छन् । शल्यक्रियाका गराइएकी बिरामीको होस नआएर मृत्यु भएको भन्दै परिवारले नेपालगन्जस्थित वेस्टर्न अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

शल्यक्रियामा लापरबाही गरेको भन्दै नेपालगन्जमा अस्पताल अगाडि धर्ना 

उपचारका लागि आइतबार ल्याइएकी बर्दियाको राजापुर नगरपालिका–१० कोठियाघाटकी ४१ वर्षीया नारायणी कुमारी बोहराको बुधबार बिहान मृत्यु भएको थियो ।

बोहराको पाठेघरमा पलाएको ट्युमरको मंगलबार ४ बजे शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि होस नखुलेपछि बुधबार बिहान नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो । मेडिकल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरे ।

‘वेस्टर्नमा अप्रेसन गरेपछि घण्टौंसम्म बिरामीलाई निकालिएन । हामी आफै आत्तिएर बिमारी हेर्न गयौं,’ मृतकका भाइ रामगोपाल बोहराले भने, ‘भेन्टिलेटर नभएको अस्पतालले किन अप्रेसन गर्‍यो । उपचार लापरबाहीले दिदीको मृत्यु भएको हो ।’

अस्पतालका चिकित्सकले पाठेघरको मासुको डल्लो निकाल्न शल्यक्रिया गरिएको दाबी गरेका छन् । पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको १६ गते मंगलबार शल्यक्रियामार्फत ट्युमर निकालिएको थियो ।

शल्यक्रियापछि १६ घण्टा पुग्दासमेत बिरामी होसमा नआएपछि परिवारले बिरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दबाब दिएका थिए । तर चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएको आफन्तले बताए ।

मृतकका पति मोहन बुढाथोकीले दबाब दिएपछि मात्र आफूहरुलाई आइसियुमा जान दिएको बताए । बिरामीको अवस्था जटिल देखेपछि उनीहरुले त्यहाँबाट मेडिकल कलेजमा पुर्‍याएका थिए । तर मेडिकल कलेजले बिरामीको पहिल्यै मृत्यु भइसकेको जानकारी दियो । नारायणीको डाक्टर कल्पना थापाले शल्यक्रिया गरेकी थिइन् ।

चिकित्सकहरुको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै कानुनी कारबाही हुनु पर्ने परिवारको माग छ । पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासनमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

शवलाई मेडिकल कलेज नेपालगन्जमा राखिएको छ । कोरोनाको परीक्षण गरिएकोमा उनको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : असार १८, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?