कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन क्षेत्र विकासको ५५ लाख कोरोना कोषमा

पाल्पा — पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५५ लाख रुपैयाँ कोभिड कोषमा रकमान्तर गरेका छन् । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत रिब्दीकोट र बगनासकाली गाउँपालिकामा काम हुन नसकेकाले उक्त कोषमा रकमान्तर गरेका हुन् ।

निर्वाचन क्षेत्र विकासको ५५ लाख कोरोना कोषमा

सांसद पाण्डेयका अनुसार रिब्दीकोट गाउँपालिकाको ३५ र बगनासकाली गाउँपालिकाको कोरोना राहत कोषमा २० लाख जम्मा गरेको हो । सडक कालोपत्रे गर्न विनियोजन गरेको रकम लकडाउनका कारण खर्च नभएपछि कोभिड कोषमा जम्मा गरेको तानसेनमा आयोजित पत्रकार भेटमा सांसद पाण्डेयले बताए । ‘बजेट खर्च नभएर फिर्ता हुनु भन्दा कोभिड कोषमा जम्मा गरेको हो,’ उनले भने, ‘अब यसबाट कोभिड नियन्त्रण, रोकथाममा खर्च गर्न सहज हुनेछ ।’ उनले पाल्पा अस्पतालअन्तर्गत स्थापना हुन लागेको पीसीआर मेसिन प्रयोगशाला व्यवस्थापनमा समेत खर्च गर्न सकिने बताए ।

सांसद पाण्डेकै पहलमा पीसीआर मेसिन स्थापनाका लागि काम अघि बढेको छ । उनले पीसीआर मेसिन जिल्लामा रहँदा पाल्पालगायत गुल्मी, अर्घाखाँची र स्याङ्जालाई फाइदा पुग्ने बताए । ‘प्रयोगशाला स्थापनाका लागि जिल्ला समन्वय समितिको पुरानो तालिम हललाई व्यवस्थापन गर्न लागिएको छ,’ उनले भने, ‘त्यसका लागि प्राविधिक अध्ययनसमेत भइसकेको छ ।’

उनले निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामको अनुगमन गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ल्याब विज्ञ तथा संयोजक पुष्प खनालले पीसीआर प्रयोगशाला सञ्चालनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए । ‘सबैको सहयोग रह्यो भने २० देखि २५ दिनमा प्रयोगशाला सञ्चालन हुन्छ ।’

प्रकाशित : असार १७, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?