कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन अवधिको आधा ब्याज छुट माग्दै राष्ट्र बैंकलाई उद्योगीको ज्ञापन

अमृता अनमोल

बुटवल — कोभिड–१९ का कारण उद्योगक्षेत्र धराशायी भएको भन्दै लकडाउन अवधिको ब्याजमा ५० प्रतिशत छुट गर्न रूपन्देही उद्योग संघले माग गरेको छ ।

लकडाउन अवधिको आधा ब्याज छुट माग्दै राष्ट्र बैंकलाई उद्योगीको ज्ञापन

उद्योग क्षेत्रमा लगानी भएको कर्जामा ७ प्रतिशतभन्दा बढी ब्याजदर हुन नहुने, ब्याज, साँवा र किस्ताको पुनर्तालिका तयार गरी एक वर्ष म्याद थप गर्नुपर्ने, पुनर्कर्जाको दायरा फराकिलो र लचिलो बनाउनुपर्ने संघको माग छ ।

मंगलबार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका प्रमुखमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, कर्जा नवीकरणलगायत शुल्क एकमुष्ट १० हजारभन्दा बढी लिन नहुने, होटल, यातायात, कृषिलगायत सेवामूलक उद्योगको कर्जामा विशेष सहुलियत प्रदान गर्न आग्रह गरेको छ ।

बजारमा तरलता कम हुन नदिन नीतिगत सुधार गरिनुपर्ने, सेयर कर्जा ७५ प्रतिशत पुर्‍याइनुपर्नेलगायत विषयसमेत ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझाउदै संघका अध्यक्ष बाबुराम बोहोराले उद्योगलाई जोगाइराख्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने हुँदा मौद्रिक नीति उद्योगमैत्री बनाउन राष्ट्र बैंकको ध्यानाकर्षण गराएको बताए ।

ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्र भट्टराईले कोभिड–१९ बाट प्रभावित उद्योग तथा वित्तीय संस्थालाई जोगाइराख्न बैंकले मौद्रिक नीतिमार्फत उद्योगी–व्यवसायीको गुनासा सम्बोधन गर्ने बताए ।

प्रकाशित : असार १६, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?