कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दका दाजु अदालत परिसरबाटै पुन: पक्राउ

दुर्गालाल केसी

दाङ — नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले सोमबार घोराहीस्थित जिल्ला अदालत परिसरबाटै पुन: पक्राउ गरेको छ । धरौटी बुझाएर अदालतबाट निस्कँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

चन्दका दाजु अदालत परिसरबाटै पुन: पक्राउ

अदालतले गत पुस ७ मा चन्दसहित प्रतिबन्धित नेकपाका २१ नेताहरुलाई प्रतिव्यक्ति १५ हजार धरौटी बुझाएर छोड्न आदेश दिएको थियो । त्यतिबेला अदालतबाहिर व्यापक प्रहरी तैनाथ गरिएकाले फेरि पक्राउ पर्ने आशंकाले उनीहरु धरौटी नबुझाएर कारागार गएका थिए । सोमबार धरौटी बुझाएर अदालतले छोडेपछि उनलाई पुन: पक्राउ गरी अर्को मुद्दा चलाउन काभ्रे जिल्ला लगिएको छ । ५९ वर्षीय चन्दको घर शिवराज नगरपालिका ८ कपिलवस्तु हो ।

प्रहरीले गत असोज ३० मा दाङको राजपुर गाउँपालिका ४ मगराइनास्थित जंगलमा बैठकस्थल नियन्त्रणमा लिई मध्यपश्चिम कमाण्ड इन्चार्ज रहेका चन्दसहित २१ नेताहरुलाई पक्राउ गरेको थियो । स्थानीय ज्ञानेन्द्रविक्रम रानाको घरमा मध्य कमाण्डको बैठक बसेर सुतिरहेको बेला राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो ।

अदालत परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै चन्दले सरकारले आफैले बनाएका नियम कानुन मिचिरहेको बताए । ‘सरकारले अदालतको आदेशको अवज्ञा गरिरहेको छ । अदालतले छोड्दा पनि हामीलाई पक्राउ गरिन्छ । सरकार आफै कानुन मिच्न अघि बढेको छ,’ उनले भने,‘हामीलाई पटक-पटक पक्राउ गरेर अनावश्यक दु:ख दिन खोजिएको छ । यसबाट हामी विचलित भएका छैनौं, थकाउन खोजिए पनि थाक्ने छैनौं ।’

प्रकाशित : असार १५, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?