बाघको आक्रमणबाट बर्दियामा दुई जना घाइते

बाघ धपाउन छ वटा हात्ती परिचालन
कमल पन्थी

बर्दिया — बाघको आक्रमणबाट आइतबार घाइते भएका राजापुर—१० लालपुरका दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

कर्णाली नदीको बगरमा बस्दै आएका ३० वर्षीय मोहन थारु भैंसी चराउन सिमावर्ती भारतको कतारियाघाट वन्यजन्तु आरक्ष नजिक जाँदा बाघको आक्रमणमा गम्भीर घाइते भएका छन् ।

बाघको आक्रमणमा उनको दुवै पाखुरा पिठ्युमा चोट लागेको छ । बाघ धपाउन जाँदा स्थानीय ४५ वर्षीय दयाराम थारुको गर्दनमा गहिरो चोट लागेको छ । उनका कुम र शरीरका विभिन्न भागमा चिथोरिले गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले बताए ।

उनीहरुको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाघ धपाउन बर्दिया राष्ट्रिय निकुन्जबाट ६ वटा हात्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । गत चैतयता बाघले तीनपटक कर्णाली तटिय क्षेत्रमा आक्रमण गर्दा चार जना घाइते भएका छन् ।

प्रकाशित : असार १५, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

हात धुने बिमार !

लकडाउनपछि ओसीडीका लक्षण बढ्दो
विज्ञ भन्छन्– ‘समयमै उपचार नभए अन्य मानसिक समस्या पनि थपिन्छ ।’
गोकर्ण गौतम

काठमाडौँ — असार पहिलो साता मनोविश्लेषक वासु आचार्यलाई एक महिलाले आत्तिँदै फोन सम्पर्क गरिन् । सुन्दा अचम्म लाग्ने समस्याबाट ती महिला दुई महिनादेखि पीडित रहिछन् । जब नेपालमा कोरोना भाइरसका संक्रमितहरू बढ्दै गए, उनमा आफू पनि संक्रमित हुने डरले डेरा जमाउँदै गयो ।

भाइरस मर्छ, सर्दैन भनेर बारम्बार हात धुन थालिन् । बाहिर ननिस्कँदा वा केहीलाई नछुँदा पनि हात नधोई नहुने भयो । त्यो क्रम बढ्दै गयो । हात धोएर मात्रै उनको चित्तै बुझ्न छोड्यो । नुहाउनैपर्ने भयो, त्यो पनि दिनमा पाँच–सात पटक । उनको बदलिएको व्यवहारले परिवारका अन्य सदस्य चिन्तित हुन थाले । संक्रमण हुने भयले सात वर्षको छोरालाई पनि लगातार हात धोइदिने र नुहाइदिने गर्न थालिन् । अति भएपछि परिवारले उनलाई मनोविश्लेषकसँग सम्पर्क गराएको थियो ।

नक्सालका ९ वर्षीय बालक लकडाउनअगाडि सामान्य थिए । वार्षिक परीक्षा दिएर बिदा मनाउने बेला घरभित्रै थुनिनुपर्‍यो । लकडाउन थपिँदै गएपछि बेचैनी बढ्दै गयो । बालबालिकालाई भाइरसले छिटो पिरोल्छ भन्ने थाहा पाएपछि थप आत्तिन थाले । छिन–छिनमा हात धुनुपर्ने भयो । टेलिभिजन हेरिरहँदा पनि हात नधोई बस्नै नसक्ने भए । धुँदा–धुँदा हातको छालै सुन्निन थाल्यो । सुरुमा अभिभावकले सम्झाए तर केही सीप लागेन । त्यसपछि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगियो ।

हात धुनु समस्या होइन, स्वस्थ हुनका लागि हात धुनुपर्छ, अझ कोरोना भाइरसबाट बच्न त साबुनपानीले हात धुनैपर्छ । भाइरसको आतंक सुरु भएसँगै देश/विदेशमा हात धुने सन्देश फैलाइयो । तर, भाइरसबाट बच्ने यो उपायले कतिपयलाई हैरानी बनाएको छ । अनावश्यक रूपमा हात धुनैपर्ने बानी विकास हुनु आफैंमा एक प्रकारको रोग हो । जसलाई मनोचिकित्साको भाषामा ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) भनिन्छ । सामान्य ढंगले बुझ्दा कुनै बानी र व्यवहार बारम्बार दोहोरिरहनु ओसीडी हो । जस्तो कि हात धुनु वा धुन मन लाग्नु समस्या होइन, तर हात नधोई चित्तै नबुझ्नु, जसरी पनि हात धुनैपर्ने हुनुचाहिँ समस्या हो । माथि उल्लेखित महिला र बालक पनि ओसीडीबाट सताइएका हुन् ।

शिक्षण अस्पताल मानसिक रोग विभागका प्रमुख डा. सरोजप्रसाद ओझा भन्छन्, ‘ठ्याक्कै यति भन्ने तथ्यांक छैन तर लकडाउनयता ओसीडी पीडित बढिरहेका छन् । हरेक उमेर समूहमा यो समस्या देखिन थालेको छ ।’ उनका अनुसार पहिल्यै ओसीडीको उपचार गरेकाहरूलाई फेरि बल्झने क्रम बढेको छ भने नयाँ बिरामी पनि थपिएका छन् । त्यसमध्ये सबैभन्दा बढी लक्षणचाहिँ हात धुनैपर्ने खालको छ ।

हामीकहाँ मानसिक स्वास्थ्यसम्बन्धी चेतना नै न्यून छ । मनोविज्ञलाई भेट्नासाथ ‘पागल, बौलाहा’ को ट्याग भिराइन्छ । त्यसैले शारीरिक समस्याझैं अरूले नदेख्ने मानसिक बेचैनीबाट मान्छेहरू भित्र–भित्रै छटपटिरहेका हुन्छन् । कोरोना महामारीले नेपालमात्र होइन, संसारमै मानसिक रोगको ग्राफ उचाइमा लगेको छ । विभिन्न अध्ययनले सन् २०३० पछि प्रत्येक तीनमध्ये एक जनामा मनोसामाजिक समस्या हुने आकलन गरेको थियो । कोरोनाका कारण १० वर्षअगाडि अर्थात् सन् २०२० मै यस्तो अवस्था आउने संकेत देखिएको विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् । नेपालमा ४० लाखभन्दा बढी सामान्य तथा जटिल मानसिक रोगी भएको अनुमान गरिन्छ । अहिलेको महामारीपछि यो संख्या ह्वात्तै बढ्नेमा सन्देह छैन ।

अनेक प्रकारका मानसिक उल्झनमध्ये ओसीडी एक हो, जसले व्यक्तिको दैनिक जीवनमा यावत् समस्या थपिदिने गर्छ । मनोविश्लेषक आचार्य भन्छन्, ‘हतार हुन्छ, पानी हुन्न तर हात नधोई हुँदै हुन्न । यसले दैनिक जीवनमा असर पार्छ । बेचैनी र तनाव बढ्ने भएकाले अरू मानसिक समस्याले पनि सताउन सक्छ ।’

आचार्यका अनुसार कुनै इच्छा, शंका, दृश्य, विचार आफ्नो इच्छाविरुद्ध बारम्बार आउँछ भने त्यो ‘अब्सेसन’ हो । सम्झनै मन हुन्न तर त्यही दृश्य आँखै अगाडि आउँछ । रोक्नै सकिन्न । कतै हाम्फाल्न मन छैन, हाम्फाल्न हुन्न भन्ने पनि थाहा हुन्छ तर हाम्फालौंझैं लाग्छ । त्यसो त ‘अब्सेसन’ हुन आफैंमा समस्या होइन तर केही नराम्रो हुन्छ भनेर हर्कतहरू दोहोर्‍याउनुचाहिँ समस्या हो । यसलाई ‘कम्पल्सन’ भनिन्छ । भर्‍याङ चढिन्छ तर चढेको तरिका ठीक भएन, ठीक नहुँदा आफू र आफन्तलाई नराम्रो हुन्छ भन्ने भयले चढ्ने–ओर्लने नगरी चित्तै बुझ्दैन । नत्र छटपटी, बेचैनी र तर्कना बढ्छ ।

आचार्यका अनुसार अहिले अत्यधिक मात्रामा सेनिटाइजर प्रयोग गर्ने, कुनै लक्षण नदेखिँदा पनि कोरोना संक्रमित भएँ भन्ने चिन्ताले अस्पताल दौडने, बाहिर निस्कन वा नयाँ मान्छेसँग भेट्नै नमान्ने खालका समस्या बढेको छ । ‘कोही–कोही त घरमा नयाँ मान्छे आउनासाथ कोरोना लागिहाल्यो भनेर आत्तिन्छन्, जति हात धोए वा टाढा बसे पनि मनको डर भाग्दैन,’ आचार्य भन्छन्, ‘रक्सी, गाँजा सेवन गर्ने अनि लामो समययदेखि अन्य रोगका औषधि खाइरहेकाहरूलाई ओसीडीले ज्यादा सताउने गर्छ ।’

साइन्स डिरेक्ट डटकममा प्रकाशित एक रिपोर्टअनुसार लकडाउन दौरानमा ओसीडीको समस्या निकै बढेको छ । ‘ओसीडीको उपचार गरेर निको भएका, उपचाररत र क्वारेन्टाइन अगाडि समस्या नभएकाहरूमा पनि ओसीडीको लक्षणहरू धेरै देखिएको छ । महामारीका बेला ओसीडीका बिरामीलाई अझ व्यवस्थित हेरविचार आवश्यक पर्छ,’ रिपोर्टमा भनिएको छ । कोरोनाले ओसीडीसँगै अन्य मानसिक समस्या के, कति र कसरी बढाइरहेको छ भन्ने वैज्ञानिक अध्ययन भइरहे पनि निष्कर्ष आइसकेको छैन । विज्ञहरूले पहिलेका महामारीले पारेको प्रभावका आधारमा अहिलेसम्म विश्लेषण गरिरहेका छन् ।

बेलायतका प्रसिद्ध मनोचिकित्सक एन्ड्रिउ इलिस पनि पहिल्यैबाट ओसीडी हुन सक्ने वा मानसिक समस्या भएका बिरामीलाई धेरै सताउने बताउँछन् । महामारीको बेला मान्छेहरू कुनै कुरामा धेरै केन्द्रित हुने जोखिम रहन्छ । ‘पटक–पटक हात धोएपछि एकछिन सन्तुष्टि मिल्छ, यो एउटा बानीका रूपमा परिणत हुन सक्छ । जसले ओसीडीको लक्षणहरू निम्ताउँछ,’ एन्ड्रिउले बीबीसीसँग भनेका छन्, ‘कोरोना भाइरसले अत्यधिक मात्रामा धेरै मानिसमा ओसीडीको संकेत देखाउँछ नै भन्ने होइन तर केही मानिसहरूमा समस्या निम्ताउन सक्छ । लामो समय यो समस्याबाट ग्रसित बनाउन सक्छ ।’ प्रारम्भिक अध्ययनहरूमा ओसीडीका पुराना रोगीलाई झन् च्याप्ने र बल्झने अनि नयाँलाई पीडित बनाउने देखिएको छ । मानसिक स्वास्थ्यबारे यथेष्ट जानकारी र उपचारले यसलाई घटाउने सकिने विज्ञहरू बताउँछन् ।

तर, नेपालको विडम्बना के छ भने नेपालमा अझै पनि मनोसामाजिक समस्यालाई गम्भीर रूपमा लिइन्न । लकडाउनपछि आत्महत्या बढेको छ, डिप्रेसन, चिन्ता र तनावबाट पिल्सनेहरूको संख्या उकालो लाग्दैछ । तर, न सरोकारवाला निकायले प्रभावकारी कदम चालेको देखिन्छ, न त परिवारभित्र र समुदायस्तरमा मानसिक समस्या निराकरणका लागि सजकता अपनाइएको छ । बरु प्रत्यक्ष/अप्रत्यक्ष रूपमा यस्ता बिरामीले अपमान र खिसिट्युरी सहनुपर्छ, जसले उनीहरूको मनोबल र जीवनप्रतिको मोह थप गिराइदिन्छ । मनोचिकित्सक वझाको सुझाव छ, ‘कोरोनाले पारिवारिक र आर्थिक चिन्ता थपिदिएको छ । ओसीडी भएका बिरामीलाई लक्षण बढ्ने सम्भावना हुन्छ । तनावलाई व्यवस्थापन गर्न सक्यो भने ओसीडीको बिमारी कम हुन्छ ।’

मनोचिकित्सक आचार्य परामर्श, थेरापी र औषधिबाट ओसीडी निको हुने भएकाले समयमै विज्ञसँग सम्पर्क गर्नुपर्ने बताउँछन् । यसो हुँदा ओसीडीले निम्ताउने अन्य मानसिक समस्याबाट पनि बच्न सकिन्छ । सँगै अब सरकारले शारीरिकसँगै मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने र चेतना फैलाउन भूमिका खेल्नुपर्ने आवश्यकता देख्छन् उनी । स्कुलको पाठ्यक्रममै मानसिक स्वास्थ्यलाई समेट्नुपर्छ । उनको बुझाइमा मानसिक बेचैनीबारे जति बहस भयो, त्यति मान्छेले सहज रूपमा लिन्छन्, आफैंले आफूलाई परामर्श दिन्छन्, त्यतिगर्दा पनि सतायो भने विज्ञकहाँ पुग्छन् ।

‘प्रत्येक वडा र स्वास्थ्य कार्यालयमा मनोपरामर्शदाताको खाँचो भइसकेको छ,’ विभिन्न जिल्ला पुगेर मानसिक स्वास्थ्यबारे कार्यक्रम गर्दै आएका आचार्य भन्छन्, ‘नर्स, अहेव, स्वास्थ्य सहायकलाई पनि मानसिक स्वास्थ्यबारे प्रशिक्षण दिनुपर्छ । ताकि तल्लो तहमै मनोरोगीको पहिचान होस् र प्रारम्भिक उपचार सम्भव होस् ।’

प्रकाशित : असार १५, २०७७ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×