कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ दिनमा डिस्चार्ज भइन् कोरोना संक्रमित सुत्केरी

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोरोना संक्रमित सुत्केरी निको भएर बच्चासहित शनिबार घर फर्केकी छन् । उनलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा अनि अविर लगाएर बिदाइ गरे  ।

आठ दिनमा डिस्चार्ज भइन् कोरोना संक्रमित सुत्केरी

कपिलवस्तु कृष्णनगर निवासी कोरोना संक्रमित २७ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणबाट मुक्त भइ आफनो बच्चासहित शनिबार डिस्चार्ज भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले बताए ।

‘आमा र बच्चा दुवैको दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो,’डाक्टर श्रेष्ठले भने,‘आमा बच्चा दुवैको अवस्था राम्रो छ । ’

३८ हप्ताकी कोरोना संक्रमित गर्भवती ती महिलाको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असार ६ गते शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको स्वाबको नमुना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई कोभिड वार्डबाट असार १० गतेदेखि आइसोलेसन वार्डमा सारिएको थियो । ती महिला र बच्चाको दोस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी कपिलवस्तुको भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर भइ थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा असार ६ गते भर्ना भएकी थिइन् ।

भारतको मुम्बईबाट एक महिनाअघि नेपाल फर्किएकी ती महिला २२ दिनदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । उनलाई कपिलवस्तुमै जेष्ठ ३ गते कोरोना जाँच गर्दा पोजिटिभ देखिएको थियो ।

प्रकाशित : असार १३, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?