घोराहीमा रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना- प्रदेश ५ - कान्तिपुर समाचार

घोराहीमा रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका १७ जनामा घर पठाइएपछि कोरोना पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि कोरोना पुष्टि भएको हो । वडा कार्यालयले लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा कार्यालयमा भेला भइ ध्यानाकर्षण गराएका थिए ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूको जेठ २१ गते पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनमा बस्नेहरूले घरमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग गरेका थिए । त्यसपछि उनीहरूलाई घर जान दिइएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानले यसको रिपोर्ट अझै सार्वजनिक गरेको छैन । वडालाई भने आइतबार नै जानकारी दिइएकोले संक्रमितलाई खोजेर आइसोलेसनमा पठाएको नगर प्रमुख नरूलाल चौधरीले बताए ।

स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएकालाई घरमा सुरक्षित बस्ने गरी पठाइएको उनले बताए । उनीहरूको ट्रेसिङ गर्ने काम भइरहेको चौधरीले जानकारी दिए । ‘लामो सयमसम्म रिपोर्ट नआएपछि र उनीहरुमा कुनै लक्षण नदेखिएपछि छलफल गरेर घरमा सुरक्षित बस्ने गरी पठाइएको हो,’ चौधरीले भने,‘कतै पनि ननिस्केर घरमै बस्ने गरी पठाइएको हो । कतै गए नगएको बुझ्ने र ट्रेसिङ गर्ने काम भइरहेको छ ।’

प्रकाशित : असार १, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

क्वारेन्टाइन लैजाँदै गर्दा भीरबाट हाम फालेका युवकको मृत्यु

अगन्धर तिवारी

पर्वत — क्वारेन्टाइनमा राख्न बागलुङ लैजाँदै गर्दा सोमबार बिहान कुश्मा नजिकैको भीरबाट हाम फालेका युवाको मृत्यु भएको छ । कुश्मा–८ चुवाको भीरबाट सोमबार बिहान हाम फालेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका–१३ का चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । उनी भारतको चेन्नईबाट सुनौली नाका हुँदै आएका थिए ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा सडकदेखि करिब ५० मिटर तल भीरमा अड्किएका नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेर पर्वत अस्पताल ल्याएका थिए । थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा लुम्ले पुग्दा बाटैमा मृत्यु भएको पर्वत अस्पतालले जनाएको छ । बाटोमै मृत्यु भएको भएपनि डाक्टरहरुले मृत घोषणा नगरी नफर्काउने भन्दै गण्डकी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा डाक्टरहरुले मृत्युको पुष्टि गरेका थिए ।

उनी आइतबार सुनौली नाका हुँदै लु १ ख ४२२० नम्बरको बसमा अरु ८ जनासँगै बागलुङ जाँदै गरेका थिए । वर्षाका कारण सडक हिलो भइ बस रोकिएपछि बसबाट झरेर सडकबाट हाम फालेको पर्वतका प्रहरी निरीक्षक एवं प्रवक्ता बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित : असार १, २०७७ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×