कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीयूमा उपचाररत कोरोना संक्रमित निको भएर घर फर्किए

अमृता अनमोल

बुटवल — कोरोना संक्रमणका कारण आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेका कपिलवस्तुका एक व्यक्ति शुक्रबार डिस्चार्ज भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भइरहेका कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवा डिस्चार्ज भएका हुन् ।

आईसीयूमा उपचाररत कोरोना संक्रमित निको भएर घर फर्किए

जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले बताए । उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनी मधुमेहका समेत बिरामी थिए । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले डिस्चार्ज गरिएको अस्पतालका खनालले बताए ।

खनालका अनुसार अस्पतालमा ल्याएपछि उनलाई २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा राखिएको थियो । जटिल अवस्था रहेकाले उनको उपचारमा विशेषज्ञसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए ।

उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि जेठ ८ मा जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यसैदिन उनको पीसीआरका लागि स्वाब लिइएको थियो ।

१२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सिकिस्त उनलाई अन्यत्र जान भन्दै बुटवल रिफर गरेको थियो । उनी उपचारको साटो पुन: क्वारेन्टाइमा फर्काइएका थिए । स्वास्थ्य जटिल बन्दै गएपछि जेठ १४ मा उनलाई कोरोना विशेष अस्पतालमा ल्याइएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?