कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

पालभित्र भोकभोकै

विपन्न परिवार भन्छन् – राहतभन्दा काम दिए बाँच्थ्यौं
रुपा गहतराज

नेपालगन्ज — केटाकेटी माटोमा लुटपुटिएका छन् । तन्नेरी साइकल चलाउँदै र कोही भत्किन लागेका टहरा मर्मत गर्न बाँस काटिरहेका छन् । भोक, अभाव र गरिबीले खोस्न नसकेको तिनीहरूको मुहारको खुसी भने कायमै थियो ।

पालभित्र भोकभोकै

सुर्खेत–नेपालगन्ज सडक खण्डमा पर्ने कोहलपुर–१४, पार्वतीपुरमा सडकछेउ लस्करै पाल टाँगिएका छन् । कुनै बोरा त कुनै कपडाका टाँगेर बनाइएका टहरा छन् । यहाँ सात परिवारका ४० जना बस्दै आएका छन् । एउटै परिवारमा ६ जनासम्म पनि छन् ।

पानी परोस् या घाम लागोस्, उनीहरूले यो ठाउँ छाडेका छैनन् । पानी पर्दा रुखमुनि ओत लागेर रात काट्छन् । करिब १२ वर्षदेखि त्यही ठाउँलाई उनीहरू आफ्नो घर बनाएर बसिरहेका छन् । पर्सा जिल्लाका उनीहरू गत भदौमा घर गएर फेरि नेपालगन्ज आएका हुन् । त्यसयता फर्कन पाएका छैनन् । चैतबाट लकडाउन भयो । पर्साको जितपुर–७, बिसनीयका रहुब अन्सारीको परिवारमा ३ जना छोरा र पत्नीसँगै छन् । ‘अरू बेला इन्डियाबाट स्टिकर किनेर ल्याई यहाँ बेच्ने गर्थ्यौं, परिवार पाल्न गाह्रो थिएन,’ अन्सारीले भने, ‘अहिले त लाजमर्नु भएको छ, मागेर खानुपर्ने अवस्था आएको छ । कति दिन त भोकभोकै बस्नुपर्छ ।’

उनीहरू घुमन्ते समुदायमा पर्छन् । जहाँ काम गर्छन्, त्यहीं नै बास बनाएर बस्छन् । बिस्तरा र भाँडाकुँडा बोकेर उनीहरू एक जिल्लाबाट अर्को जिल्ला पुग्छन् । काम गरेरै नै परिवार पाल्छन् । मागेर खान रुचाउँदैनन् । लकडाउन सुरु भएयता नगरपालिकाले चैतको दोस्रो साता २० किलो चामल दिएको थियो । सात परिवारले त्यो चामल बाँडे । ‘२० किलो चामलले कति दिन धान्छ र ?,’ साबिर खानले भने, ‘अहिले नहरमा माछा मारेर खाइरहेका छौं ।’

मच्छडदानी फुकालेर पुरुषहरू खोला र नहरमा माछा मार्न पुग्छन् । दिनभरि मारेका माछा बेचेर चामल किन्छन् । ‘माछा धेरै भयो भने ३ सय रुपैयाँ किलो बेच्छौं,’ तारुन खातुनले भनिन्, ‘माछा बिक्री नभएको दिन आफैं पकाएर खान्छौं ।’ उनका एक छोरा र छोरी छन् । ‘केटाकेटीलाई खुवाएर बचेको खाना बूढाबूढीले खान्छौं,’ खातुनले भनिन्, ‘केटाकेटीको भोक मेटाउनै पर्‍यो ।’ सुन्नी पठानले काम नभएर मागेर नै गुजारा चलाएको बताइन् । ‘काम खोज्न हिँड्यो पुलिसले धपाउँछन्,’ उनले भनिन् ‘कुनै काम दिए हामी काम गरेर खान्थ्यौं ।’

मुलुक लकडाउनमा छ । सर्वसाधारण सकसमा छन् । संक्रमितको संख्या बढिरहेको छ । लकडाउनले सबैभन्दा बढी विपन्न वर्गलाई अप्ठ्यारोमा पारेको छ । लकडाउनका कारण हातमुख जोर्न सकस भएपछि उनीहरूका आफन्त ७ जना गाउँ फर्किए । ‘प्रहरीले गाउँ जाने गाडीमा राखेर पठाइदियो,’ हैदर अलीले भने, ‘घर पुगे कि पुगेनन्, थाहा भएन ।’ अलीका ३ छोरी र १ जना छोरा छन् । माछा मार्न गएर फर्कने बेलासम्म घरमा खाना पाक्दैन । छोराछोरी खाना कुर्दाकुर्दै निदाउँछन् । ‘रोगले भन्दा भोकले मर्ने भयौं,’ अलीले भने, ‘त्यसैले राहतभन्दा काम दिए अलिक महिना बाँच्ने थियौं ।’

प्रकाशित : जेष्ठ २२, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?