कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा संक्रमितको संख्या ४१४ पुग्यो

२७ दिनमै ४ सयभन्दा बढी संक्रमित
मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ४ सय १४ पुगेको छ । बिहीबार बिहान १२ जनामा संक्रमण पुष्टि भएसँगै ४ सय १४ पुगेको हो ।

कपिलवस्तुमा संक्रमितको संख्या ४१४ पुग्यो

बिहीबार वाणगंगा नगरपालिकामा ४ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । त्यस्तै यशोधरा गाउँपालिकाका ६ पुरुषमा संक्रमण देखिएको छ । योसँगै मुलुकमा सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तु भएको छ । पहिलो संक्रमण देखिएको २७ दिनमा ४ सय बढी कोरोना भाइरस संंक्रमणका बिरामी थपिएका छन् । कपिलवस्तुमा पहिलो पटक वैशाख २५ गते २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी यशोधरा गाँउपालिका प्रभावित भएको छ । यशोधरामा मात्रै संक्रमितको संख्या १०६ पुगेको छ । मायादेवी गाउँपालिकामा ५३ जना संक्रमित छन् । महाराजगन्ज नगरपालिकामा ५० संक्रमित छन् । शिवराजमा ४८ र कृष्णनगर नगरपालिकामा ३५ जना संक्रमित छन् । शुद्धोधन गाउँपालिकामा ३० संक्रमित छन् । कपिलवस्तु नगरपालिकामा २९, बुद्धभूमि नगरपालिकामा २६ संक्रमित छन् । त्यस्तै वाणगंगा नगरपालिकामा २२ र विजयनगर गाँउपालिकामा १६ संक्रमित छन् । त्यस्तै कपिलवस्तुमा ४ सुरक्षाकर्मी, ४ सञ्चारकर्मी र २ महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो । त्यस्तै २ कर्मचारी र एक जना वडाध्यक्षसमेत संक्रमित भएका छन् ।

संक्रमित १४ जना बाहेक सबै जना भारतबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । ‘सबै संक्रमित क्वारेन्टाइनमा बसेकाहरु हुन्,’ उनले भने, ‘त्यसकारण समुदायमा अझै संक्रमण गएको छैन ।’ अहिलेकै गतिमा संक्रमण बढने हो भने आइसोलेसन सेन्टर थप्नु पर्ने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

५ सय बेडको आइसोलसन सेन्टर रहेको जिल्लामा बढाएर हजार बेड बनाउने तयारी भएको उनले बताए । जिल्लामा ५ हजार ३ सय २४ जनाको स्वाब संकलन गरिएकोमा अझै ९ सय बढीको रिपोर्ट आउन बाँकी छ । जिल्लामा अझै ४ हजार क्वारेन्टाइनमा रहेका छन् । संक्रमितमध्ये ३२ जना निको भइ घर फर्केका छन । बुधबार निको भएर घर फर्कने ८ जनामा ४ सुरक्षाकर्मी र एक नगरपालिकाका कर्मचारी छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?