कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ का क्वारेन्टाइनमा ३२ हजारभन्दा बढी

अमृता अनमोल

बुटवल — भारतमा रोजगारी गर्न गएका व्यक्ति फर्कने क्रम बढेसँगै प्रदेश ५ का क्वारेन्टाइन भरिभराउ भएका छन् । प्रदेशका १२ जिल्लामा एक हजार २ सय ३९ क्वारेन्टाइन छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार साँझसम्म प्रदेश ५ का क्वारेन्टाइनमा ३२ हजार ३ सय ७३ जना रहेका छन् ।

प्रदेश ५ का क्वारेन्टाइनमा ३२ हजारभन्दा बढी

कोरोना आशंकाका उनीहरुमध्ये २ हजार ७ सय ३८ जनाको मात्र स्वास्थ्य परीक्षण भएको छ । करिब ३० हजार स्वास्थ्य परीक्षणको पर्खाइमा छन् । क्वारेन्टाइनमा अनुमानभन्दा बढी भीड हुँदा समयमा स्वास्थ्य परीक्षण गर्न नसकिएको प्रदेश सरकारले जनाएको छ । यद्यपि १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी र अति प्रभावित क्षेत्रबाट आएकालाई त्यसभन्दा छिटो पीसीआर परीक्षण गर्न लागिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘संघीय सरकारले पठाएका भीटीएम र पीसीआर किटले मात्र हाम्रो आवश्यकता र माग धानिएन । क्वारेन्टाइनमा पालो कुरेकाको स्वास्थ्य जाँचमा ढिलाइ भयो,’ उनले भने, ‘त्यसका लागि प्रदेशबाटै किन्ने प्रक्रिया अघि बढाएका छौं ।’ प्रदेश सरकारले भीटीएम र किट किन्न प्रत्येक स्वास्थ्य कार्यालयलाई १० लाखको दरले पठाएको छ । तर, उनीहरुले कहिले किट किनेर काम थाल्ने हुन् टुंगो छैन ।

प्रदेशमा धेरैजसो क्वारेन्टाइन विद्यालयमा बनाइएको छ । पहाडको तुलनामा तराईका सीमावर्ती क्षेत्रका क्वारेन्टाइनको अवस्था कमजोर छ । तर, धेरै व्यक्ति तिनै क्वारेन्टाइनमा छन् । तराईका जिल्लामा करिब ४० डिग्री सेन्टिग्रेट तापक्रम छ । यस्तोमा उनीहरु बस्दा उकुसमुकुस भएका छन् । क्वारेन्टाइन व्यवस्थित नहुँदा तथा सामाजिक दूरीबिना असुरक्षित किसिमले बस्दा एक व्यक्तिबाट धेरै व्यक्तिमा संक्रमण फैलिएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर प्रसाद चौधरीले क्वारेन्टाइन बसाइ सुरक्षित नहँुदा एक व्यक्तिबाट अरुमा संक्रमण भएको हुन सक्ने बताए । क्वारेन्टाइनमा आएपछि समाजबाट अलग भए पनि कतिपयमा त्यहाँ बसेकै बीच सामाजिक दूरी कायम नहँुदा एक संक्रमित व्यक्तिबाट धेरैमा सरेको हुन सक्ने उनको भनाइ छ । ‘रोगबारे अचेतना हो कि भावना हो ? मान्छे समूहमा बस्ने, समूहमै रमाइलो गर्ने देखियो,’ उनले भने, ‘यही कारण क्वारेन्टाइमा बसेकामध्ये एक संक्रमित व्यक्तिबाट धेरैमा सरेको छ ।’ यसलाई रोक्न पछिल्लो पटक क्वारेन्टाइन लक्षित स्वास्थ्य सचेतना कार्यक्रम चलाएको चौधरीले बताए ।

नियमत: क्वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छ । स्थानीय तहको स्वास्थ्य संयोजकको संयोजनमा क्वारेन्टाइन बनाइएका छन् । कतिपयमा तिनै स्वास्थ्यकर्मीले समेत संक्रमणबाट बच्ने तरिका अवलम्बन गरेका छैनन् । क्वारेन्टाइनमा समूहमा छोइएर बस्न, छोइएर नाचगान गर्न र खान दिएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य संयोजक मुन्सीप्रसाद माझीले सामाजिक संरचना नै समूहमा बस्ने भएकाले छुट्टाछुट्टै राख्न र सामाजिक दूरी कायम गराउन कठिन भएको बताए । ‘मास्क लगाएर बस्नका लागि त सम्झाएर हुँदैन गाली नै गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १७, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?