कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

यसकारण भाग्छन् क्वारेन्टाइनबाट

स्वाब पठाएको एक सातासम्म रिपोर्ट आउँदैन । धेरैजसोमा खानाको प्रबन्ध छैन । कतिपयले खानै पाउँदैनन् । कोठामा पंखा छैन । भुइँमा सुत्नुपर्छ । झुल नभएकाले लामखुट्टेले टोक्छ । शौचालय र कतिपय ठाउँमा बिजुलीसमेत छैन ।
मनोज पौडेल

कपिलवस्तु — आइतबार राति कपिलवस्तु नगरपालिका–४ मालपारास्थित सुन्दर प्रावि क्वारेन्टाइनबाट ४२ जना भागे । उनीहरू भारतबाट आएका थिए । स्वाब परीक्षणको रिपोर्ट ढिलो आउँदा उनीहरू भागेको जनाइएको छ । २/३ जनाले मदिरा सेवन गरेर उक्साएर सबैलाई भगाएको स्थानीय बासिन्दाले बताएका छन् ।

यसकारण भाग्छन् क्वारेन्टाइनबाट

क्वारेन्टाइनमा रहेका केही घर गएर इद मनाएर फर्किएका थिए । त्यसपछि घर जान नपाउनेहरू आक्रोशित थिए । भागेको जानकारी आउनासाथ सुरक्षाकर्मी परिचालन गरेर सोमबार बिहानै उनीहरूलाई क्वारेन्टाइनमा फर्काइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सदरमुकाम आसपासका मलपरवा, सिकटवा, जमोहरी र पटखहवाका बासिन्दालाई त्यहाँ राखिएको छ ।

गत जेठ ६ गते पनि यशोधरा–६ रंगपुरको वासुदेव जनता मावि क्वारेन्टाइनबाट ११ जना भागेका थिए । वडा कार्यालयले उनीहरूलाई पक्राउ गर्न रंगपुर प्रहरी चौकीलाई नामावलीसहित पत्राचार गरेको थियो । प्रहरीले उनीहरूलाई एक दिनपछि खोजेर ल्याएपछि पुनः क्वारेन्टाइनमा राखियो । २० दिनभन्दा लामो अवधि क्वारेन्टाइनमा बस्दा पनि स्वाब परीक्षण नभएपछि भागेको वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए । ‘स्वास्थ्य कार्यालय र प्रदेश मन्त्रालयमा सम्पर्क गर्दा किट अभाव छ भन्छन्,’ उनले भने, ‘हाम्रो अनुरोध बेवास्ता गरेर भागे ।’ परीक्षणबिनै भागेर जाँदा समाजमा संक्रमण फैलिने जोखिम बढेको उनले बताए । यशोधरा–६ बाट आइतबार पनि ४/५ जना भागेका थिए । उनीहरू घर नपुग्दै प्रहरीले पक्राउ गरेर फिर्ता ल्याएको थियो । गत जेठ २ र ३ मा यशोधरा–८ का २ क्वारेन्टाइनबाट ४४ जना भागेका थिए । उक्त वडाको खोरियास्थित सरस्वती प्राविमा रहेका १८ जना र राष्ट्रिय निमावि सिहोखोरमा रहेका २४ जना भागेका थिए । जेठ ४ गते रातिसम्म ४० जना ल्याइएको थियो । अर्को दिन बाँकीलाई ल्याइयो । प्रहरी उपरीक्षक दीपशमशेर जबराले आफैं उनीहरूका घरमै पुगेर सम्झाइबुझाइ फर्काएको बताए ।

यसरी भाग्नुका अनेक कारण छन् । ‘अधिकांश क्वारेन्टाइनमा बसेको दुई साता भइसक्यो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘स्वाब पठाएको एक सातासम्म पनि रिपोर्ट आउँदैन ।’ रूपन्देहीको भैरहवास्थित प्रयोगशालामा चाप छ । रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बस्नेहरूमा तनाव र चिन्ता छ । उनीहरूले प्रयोगशालाको समस्या नबुझ्ने प्रजिअ पौडेलले बताए । छिटो परीक्षण नहुनाले पनि क्वारेन्टाइन व्यवस्थापनको चुनौती थपिएको हो । ‘भारतबाट आउने बढ्दै छन्,’ उनले भने, ‘यसतर्फ प्रदेश र संघीय सरकारको ध्यान जानुपर्‍यो ।’ जिल्लामा तत्काल ४ हजार जनाको पीसीआर परीक्षण आवश्यक देखिएको छ । मुख्यतया कोरोना हटस्पट मुम्बई र दिल्लीबाट आएकाको पीसीआर नै गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

जिल्लाभर १ सय ८० क्वारेन्टाइनमा मंगलबारसम्म ६ हजार ३ सय जना छन् । संख्या धेरै भएकाले व्यवस्थापन भद्रगोल छ । व्यवस्थित नभएकाले क्वारेन्टाइनमा राखिएकाहरू बारम्बार भाग्न थालेका छन् । क्वारेन्टाइन व्यवस्थापन निकै फितलो छ । धेरै ठाउँमा खानाको प्रबन्ध छैन । कतिपयले खानै पाउँदैनन् । अधिकांशको घरबाट खाजा खाना लैजानुपर्छ । गर्मीमा विद्यालयका कोठामा पंखा छैन । सुत्ने खाट छैनन् । भुइँमा सुत्नुपर्छ । लामखुट्टेले टोक्छ, झुल छैन । साँघुरो कोठामा कोचिएर बस्नुपर्छ । शौचालय र ह्यान्डपम्पको प्रबन्ध छैन । कतिपय ठाउँमा बिजुली छैन । सुरक्षा प्रबन्ध नहुँदा क्वारेन्टाइनमा बसेका कतिपय घर आउजाउ गर्छन् । आधारभूत सुविधा नहुँदा दिनरात कष्टकर भएको छ । ‘मायादेवी गाउँपालिकाको खैराटी क्वारेन्टाइनमा एक जना बिरामी भएपछि स्वास्थ्यकर्मी बोलाइयो,’ बुधराम रैदासले भने, ‘५ घन्टा कुर्दा पनि स्वास्थ्यकर्मी आएनन् ।'

प्रकाशित : जेष्ठ १४, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?