कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्युठानका क्वारेन्टाइन भरिए

पालिकाहरूले तयार पारेको प्रारम्भिक तथ्यांकअनुसार भारतलगायत अन्य मुलुकबाट एक साताभित्र पन्ध्र हजारभन्दा बढी भित्रिँदै छन्   
गिरुप्रसाद भण्डारी

प्युठान — भारतबाट आउनेहरूको दिनहुँजसो लर्के लागेपछि जिल्लाका पालिकाहरूलाई तिनको व्यवस्थापन गर्न हम्मे परेको छ । विद्यालय, सामुदायिक भवनमा बनाइएका क्वारेन्टाइनस्थल भरिभराउ भएका छन् । 

प्युठानका क्वारेन्टाइन भरिए

भारतबाट आएर कपिलवस्तुको कृष्णनगर, बाँकेका नेपालगन्ज, रुपैडिहालगायत सीमाक्षेत्रमा अलपत्र परेका जिल्लावासीलाई उद्धार गर्न थालिएसँगै क्वारेन्टाइन भरिएका हुन् ।

उनीहरूलाई जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको समन्वयमा उद्धार गर्न थालिएको हो । भारतबाट आएकालाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या पर्न थालेको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । उनका अनुसार नगरपालिकाका क्वारेन्टाइनमै झन्डै एक हजार जना बसेका छन् ।

प्रहरीका अनुसार आइतबारदेखि बुधबारसम्म झन्डै ४ हजार जना जिल्ला भित्रिएका छन् । उनीहरूलाई स्थानीय तहका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए । क्वारेन्टाइनमा बसेकालाई सुरक्षा दिन प्रहरीलाई समेत समस्या पर्न थालेको छ । पालिकाहरूले बनाएको प्रारम्भिक तथ्यांकअनुसार भारतलगायत अन्य मुलुकबाट एक साताभित्र पन्ध्र हजारभन्दा बढी भित्रिनेछन् ।

क्वारेन्टाइनमा बसेकाको आरडीटी गर्ने किट र पीसीआरका लागि भीटीएम अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले बताए । हालसम्म जिल्लाबाट पठाइएकामध्ये १२१ जनाको पीसीआर परीक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । १५ जनाको रिपोर्ट आउनै बाँकी छ ।

जिल्लामा ९ सय १८ जनाको आरडीटी गरिएको सुवेदीले बताए । प्युठानमा अहिलेसम्म कसैमा कोरोना नदेखिए पनि भारतबाट आउनेहरू बढेको र छिमेकी गुल्मी, अर्घाखाँची, बागलुङ र दाङमा संक्रमितहरू भेटिएकाले जोखिम कायमै छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?