कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक निर्माणमा विस्फोटक पदार्थको सहारा

अरु उपाय नलागेपछि रुकुम पूर्वका प्वाङ, जाङ र सिस्ने सडक निर्माणका लागि 'ब्लास्टिङ' गरिएको छ ।
हरि गौतम

रुकुम पूर्व — असजिलो भूगोलका कारण सडक सञ्जाल नपुगेका प्वाङ, जाङ र सिस्ने सडक निर्माणको काम अघि बढेको छ । विशेषगरी पुथाउत्तरगंगा गाउँपालिका–१४, मा पर्ने चट्टानी क्षेत्रले सडक निर्माण कार्य अवरुद्ध भएको थियो । देउखोलासम्म तीन वर्षअघि नै सडक पुगेको भए पनि त्यसअघि ठूला र कडा चट्टान अवरोध बनेका थिए ।

सडक निर्माणमा विस्फोटक पदार्थको सहारा

अहिले लकडाउनको समयमा त्यस क्षेत्रको चट्टान फुटाउन थालिएको छ । अरु उपाय नलागेपछि विस्फोटक पदार्थ विस्फोट (ब्लास्टिङ) गराएर सडक निर्माण कार्य अघि बढाइएको हो । बालुवा–नायगाड–जामाबगर– त्रिवेणी सडकअन्तर्गत देउखोला–नायगाड–जामा खण्डको करिब ३ किलोमिटर क्षेत्रमा विस्फोटमार्फत सडक निर्माण सुरु भएको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसीआइपीको बजेटबाट उक्त सडक निर्माण थालिएको हो । ११.६ किलोमिटर लामो यो सडकमा आस्फाल्ट कंक्रिट गर्ने भनेर पीएच/शंकरमाली निर्माण सेवा कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार पहिलो वर्षमा ट्रयाक खोल्नेदेखि ग्राभेलसम्मको काम गर्ने भनिएको छ भने अर्को वर्षमा कालोपत्रे गर्ने भनिएको छ । आस्फाल्ट कंक्रिट अर्थात् ३० एमएम बाक्लो पिच गर्ने गरी सम्झौता भएको छ । २०७५ असोज पहिलो साताबाट सडक निर्माणका आधारभूत काम थालिएको थियो ।

बिहीबारबाट देउखोलामा ब्लास्टिङ सुरु गरिएको छ । चट्टानको असजिलो काम ब्लास्टिङमार्फत गरेपछि अरु काम सजिलो र छिटै गर्न सकिने निर्माण कम्पनीका प्रतिनिधि विमल ढकाल बताए । सातामा दुईपटक ब्लास्टिङ गरिने उनको भनाइ छ । 'वर्षा लाग्नुअघि सकेजति काम गर्ने र त्यसपछि काम अघि बढाउने तयारी गरिएको छ,' उनले भने ।

सडक निर्माण कार्य अघि बढाइएपछि त्यसक्षेत्रका सर्वसाधारण खुसी भएका छन् । नायगाडका विवेक खड्काले भने, ‘भीरका कारण सडक निर्माण त रोकिएको थियो नै यो बाटो भएर हिँड्ने मान्छे जोखिममा छन् । माथिबाट ढुंगा आउने र तल सानीभेरी नदी बीचबाट हिँड्नुपर्ने बाध्यता छ ।'

एक वर्षदेखि सडक निर्माण कार्य रोकिएको थियो । ढिलै भए पनि काम हुन थालेपछि आशा जागेको सिस्ने गाउँ कार्यपालिका प्रवक्ता तथा २ नं वडाध्यक्ष जीवन केसीले बताए । ‘सडकका कारण यस क्षेत्रका हामीले विकासका काममा ठूलो धक्का बेहोर्नुपरिरहेको छ । सडक निर्माणपछि विकास निर्माणका अरु सामग्री अठ्यारो बाटो भएर बोक्नुपर्ने बाध्यता टर्नेछ,' उनले भने ।

एसियाली विकास बैंक र नेपाल सरकारको लगानीमा उक्त सडक बनाउन लागिएको हो । भ्याट र प्रोभिजनल समबाहेक २८ करोड ६९ लाख २८ हजार ६ सय एक रुपैयाँ ८० पैसामा उक्त सडक बन्ने गरी ठेक्का सम्झौता भएको छ । निमित्त आयोजना प्रमुख इन्जिनियर शंकर खत्रीले आगामी असारमा सक्ने सम्झौता भए पनि सम्भव नरहेको बताए ।

उक्त सडक निर्माणपछि सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडाका सिस्ने, प्वाङ, पुथाउत्तरगंगा गाउँपालिकाका जाङ, राङसी, कोल, हुकाम र रन्मामैकोट सडक सञ्जालमा जोडिनेछन् । अस्थायी सदरमुकामसहित दाङ, बुटवल जान पनि सजिलो हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?