कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा बाँके, कपिलवस्तु र रुपन्देहीमा संक्रमित धेरै

दीपेन्द्र बडुवाल

बुटवल — प्रदेश ५ का बाँके, कपिलवस्तु, रूपन्देहीमा दैनिक कोरोना संक्रमित बढिरहेका छन् । बाँकेमा एक सयभन्दा बढी संक्रमित पुगेका छन् । कपिलवस्तुमा दैनिक संक्रमण पुष्टि भइरहेका छन् । रुपन्देहीका सीमावर्ती स्थानीय तहमा संक्रमित बढने क्रम जारी छ ।

प्रदेश ५ मा बाँके, कपिलवस्तु र रुपन्देहीमा संक्रमित धेरै

शनिबार बिहान रुपन्देहीको गैडहवा गाउँपालिकामा ७ र रोहिणी गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ । उनीहरू भारतको मुम्बई र दिल्लीबाट आएका हुन् । भैरहवास्थित प्रदेश प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरूमा कोरोना पुष्टि भएको हो । उनीहरू सबै पुरुष हुन् । १२ दिनअघिदेखि गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । यसअघि गैडहवाका १० जनामा संक्रमण पुष्टि भइसकेको छ । रोहिणीमा पहिलोपटक संक्रमित पाइएका हुन् । रुपन्देहीमा संक्रमितको संख्या ३७ पुगेको छ ।

त्यस्तै शनिबार बिहान कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित थपिएका छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको उक्त नगरपालिकामा शुक्रबार ५ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार वाणगंगा र कपिलवस्तु नगरपालिकाका गरेर दुई सञ्चारकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुका १० स्थानीय तहमा संक्रमितको संख्या ७७ पुगेको छ ।

बाँकेमा शुक्रबार २१ जना संक्रमित निको भएर घर फर्किएकै दिन १४ जना नयाँ संक्रमित थपिएका छन् । पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा एक जनामा संक्रमण पाइएको छ । अन्य १३ जना नरैनापुर गाउँपालिलका हुन् । उनीहरू १८ देखि ६१ वर्षका छन् । नरैनापुर गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षणमा १३ जना संक्रमित थपिएका हुन् । नरैनापुर–३ का वडाध्यक्ष राजकुमार मौर्यका अनुसार संक्रमित व्यक्ति नेपाल राष्ट्रिय प्रावि शंकरनगर कोटिया क्वारेन्टाइनमा रहेकाहरू हुन् । उनीहरू ११ दिनअघि मुम्बईबाट आएका थिए । राप्तीसोनारी गाउँपालिका–९, ढकेरीका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी बुधबारदेखि कुसुमको गणेश मावि क्वारेन्टाइनमा बसिरहेका थिए । यससँगै नरैनापुरमा मात्र ८६ जना संक्रमित पुगेका छन् । नेपालगन्जमा २५, खजुरामा २ र राप्तीसोनारीमा एक संक्रमित छन् ।

यसबाहेक पश्चिम नवपरासीमा संक्रमितको संख्या ६, दाङमा ५, बर्दियामा दुई र गुल्मीमा एक पुगेको छ । प्रदेशभरि २ सय ४८ संक्रमित पुगेका छन् । सबैभन्दा धेरै बाँकेमा १ सय १५ र कपिलवस्तुमा ७७ संक्रमित पुगेका छन् । शुक्रबार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना निको भएर घर फर्किएका छन् । त्यस्तै रूपन्देहीको कोटहीमाईका एक जना यसअघि निको भएर घर फर्किसकेका छन् । बाँकेको नरैनापुर–६ र गुल्मीको मदाने–६ का एक/एक संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?