कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कावासोतीको कोभिड खर्च विवरण सार्वजनिक, अनियमितता आशंकामा स्थानीयको विरोध

जिल्ला समन्वय समितिमा पठाइएको र नगरपालिकाले जारी गरेको विवरणमा फरक-फरक खर्च विवरण सार्वजनिक भएपछि स्थानीयले विरोध जनाएका छन् ।
नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कोभिड-१९ को राहत तथा व्यवस्थापनको खर्च विवरण जिल्ला समन्वय समिति र आन्तरिक हिसाबमा फरक-फरक देखाएको छ ।

वैशाख ३० गते जिल्ला समन्वय समितिलाई पठाएको विवरण र जेठ ६ गते सार्वजनिक विवरणमा फरक तथ्यांक सार्वजनिक भएको हो । फरक विवरण सार्वजनिक भएपछि सरोकारवालाले अनियमितताको आशंका गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेलले हस्ताक्षर गरी वैशाख ३० गते जिल्ला समन्वय समितिमा पठाएको विवरणमा जम्मा खर्च ५१ लाख ५ हजार ६ सय २८ रुपैयाँ उल्लेख छ । तर जेठ ६ गते नगरपालिकाले जारी गरेको विवरणमा जम्मा खर्च ४२ लाख ९४ हजार ८ सय ६३ रुपैयाँमात्र देखाइएको छ । एक साताबीच खर्च बढ्नुपर्नेमा घटाइएको छ । खर्च विवरणमा पनि अस्वाभाविक खर्च देखाइएपछि स्थानीयले विरोध जनाएका छन् ।

१४ वटा चारपाई, तन्ना, सिरानी, पानीको जार, झुल, गमला खरिदमा मात्र ३ लाख ७५ हजार खर्च भएको विवरण जिल्ला समन्वय समितिमा पेस गरिएको छ । भाँडा खरिदमा ३६ हजार ५ सय, सेनिटाइजर, औषधि, गाउनमा २ लाख ३२ हजार ४ सय ५१ खर्च भएको उल्लेख छ । १७ वटा वडामा एक सय वार्डको क्वारेन्टाइन निर्माण गरेको नगरपालिकाले प्रतिबेड ७ हजार खर्च देखाएको छ । ‘जिल्ला समन्वय समितिमा पेस गरेको बजेट अनुमानित हो । त्यति धेरै रकम खर्च भएको छैन,’ नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले भने, ‘अधिकांश रकम भुक्तानी हुन बाँकी छ । हामी खर्च भएको रकम र अब आवश्यक बजेटको विषयमा छलफल गर्दै छौं ।’

खर्च रकम बढी देखाएका स्थानीय तहले क्वारेन्टाइनमा भने विद्यालयको बेन्च, अस्पतालको बेड र सामान्य चारपाईमा मानिसहरु राखेका छन् । स्थानीयले कोरोना संकटको समयमा अतियमितता भएको भए तत्काल छानबिन गर्न माग गरेका छन् ।

नगर विकास समिति कावासोतीका पूर्वअध्यक्ष सुरज गुरुङले सामाजिक सञ्जालमार्फत नगरपालिकाले ७ हजार पर्ने सुविधासम्पन्न बेड क्वारेन्टाइनमा राखेकोमा बधाई भन्दै व्यंग्य गरेका छन् । तर , क्वारेन्टाइनमा सामान्य र कमसल बेड छ । क्वारेन्टाइन निर्माणमा छुट्टै ५ लाख खर्च गरेको नगरपालिकाले ७ लाख थप केका लागि खर्च गर्‍यो भन्नेबारे नेपाली कांग्रेस कावासोती नगर समितिले लिखित सूचना मागेपछि नगरपालिकाले खर्च विवरण सार्वजनिक गरेको हो । जुन नगरपालिकाले जिल्ला समन्वय समितिमा पेस गरेको भन्दा फरक छ ।

यसैगरी, गैंडाकोट नगरपालिकाले क्वारेन्टाइन निर्माणमा ५ लाख र व्यवस्थापनमा १० लाख खर्च गरेको विवरण जिल्ला समन्वय समितिमा पेस गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले तत्कालै सबै रकम खर्च नभए पनि आवश्यक तयारीका लागि व्यवस्थापन र सामग्री खरिदमा खर्च गर्नेगरी रकम विनियोजन गरेको बताए । ‘अहिले नै सबै रकम खर्च भएको होइन । संक्रमण फैलँदै जाँदा तत्काल आर्थिक स्रोत जुट्ला/नजुट्ला भनेर अहिले नै तयारी गरेका हौं । यसलाई अन्यता लिन हुँदैन,' उनले भने, 'जनप्रतिनिधि सबैलाई यसबारे जानकारी छ ।’

तर गाउँपालिकाहरुले क्वारेन्टाइन निमार्णमा खर्च गरेका छैनन् । उनीहरुले सामुदायिक भवन र विद्यालयको भवन नि:शुल्क प्रयोग गरेका छन् ।

३ करोडभन्दा बढी खर्च

पूर्वी नवलरासीमा मात्रै कोरोना संक्रमण रोकथाम र नियन्त्रणका ३ करोडभन्दा बढी रकम खर्च भएको छ । क्वारेन्टाइन व्यवस्थापन र औषधिमा यो रकम स्थानीय तहले खर्च गरेका हुन् ।

वैशाख मसान्तसम्म जिल्लाका ८ स्थानीय तहले २ लाख ५५ हजार २ सय २४ रुपैयाँ खर्च गरेका हुन् । जिल्ला समन्वय समितिले प्रदेश र केन्द्र सरकारलाई पठाएको रिपोर्टमा राहत, क्वारेन्टाइन व्यवस्थापन र औषधिमा खर्च भएको रकम उल्लेख छ । क्वारेन्टाइनको निर्माण तथा सञ्चालनमा ६६ लाख ९१ हजार ७ सय ६ रुपैयाँ र राहत वितरणमा २ करोड ३५ लाख ६३ हजार ५ सय १८ रुपैयाँ खर्च भएको छ ।

हुप्सेकोट, बुलिङ्टार, बौदिकाली गाउँपालिका र मध्यविन्दु नगरपालिकाले भने क्वारेन्टाइन नि:शुल्क तयार पारेका छन् । सामुदायिक भवन र सरकारी विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?