घर जान पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिए भारतीय मजदुर
दाङ — घर जान पाउनुपर्ने माग गर्दै भारतीय इँटा मजदुर आन्दोलनमा उत्रिएका छन् । लकडाउन भएदेखि कामविहीन बनेर इँटा उद्योगमा बसिरहेका मजदुरहरुले मंगलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।पटक-पटक अनुरोध गर्दा पनि घर जान नपाएपछि आन्दोलन गर्नु परेको मजदुरहरुले बताएका छन् ।
‘मोदी सरकार, हामीलाई घर लैजाऊ नत्र यहीं गोली मार्देऊ’ भन्ने प्लेकार्ड बोकेका सयौं मजदुरहरुले विभिन्न इँटा उद्योगसहित घोराही उपमहानगरपालिका १० नारायणपुरमा प्रदर्शन गरेका थिए ।
जिल्लामा रहेका २६ इँटा उद्योगमा अहिले ६ हजार ५ सय भारतीय मजदुर रहेका इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीले बताए । ‘लकडाउन भएदेखि मजदुरहरु खाली बसिरहेका छन् । घर जान पटक-पटक प्रयास गर्दा पनि पाएनन्,’उनले भने,‘धेरैपटक बाटोबाट फर्काइए । अहिले यहाँ खानबस्न समस्या भएको छ । उता उनीहरुका परिवारको पनि बिचल्ली भएको छ ।’
अहिले इँटाको सिजन सकिएकाले मजदुरहरुलाई राखिरहन कठिन भएको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा पटक-पटक छलफल गर्दा पनि भारतीय मजदुरलाई घर पठाउनेबारे कुनै गम्भिरता नभएको वलीले बताए । उनका अनुसार हजारौं मजदुरहरु असुरक्षित तरिकाले इँटाभट्टामा बसिरहेका छन् । ‘अहिले कामको सिजन पनि छैन । अहिले इँटाको काम नै छैन । बिनाकाम के खाएर बस्ने ?,’ उनले भने,‘सरकारले छिटो पहल गरी उनीहरुलाई भारत पठाउनुपर्छ । नत्र उनीहरुलाई ठूलो संकट पर्दैछ ।’
दुई देशको मामिला भएकाले जिल्लाबाट केही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘यसअघि गएका मजदुरहरु सीमा पार गर्न पाएका छैनन् । भौवा नाकामा पुगेका २६ जना अलपत्र छन्,’उनले भने,‘भारतले उता पस्न नदिएपछि हामीले यहाँबाट के गर्नु ? उता जान दिएमा हामी पठाउन तयार छौं ।’ बाटोमा अलपत्र पर्ने भएकाले पठाउने केही उपाय नभएको रिजालले बताए ।
यसअघि बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले इँटा उद्योगमा रहेका मजदुरलाई उद्योगले खानबस्न व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । निर्णयअनुसार आजसम्म खानेबस्ने व्यवस्था गरे पनि लामो समयसम्म व्यवस्थापन गर्न कठिन भएको व्यवसायीहरुको भनाइ छ । यसअघि उद्योगहरुले जिल्लामा समन्वय गरी मजदुरहरुलाई पठाउन खोजे पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके प्रवेशद्वार अमिलियाबाट फर्काइएका थिए । पैदल हिँड्दै गएका मजदुरहरु पनि नाकाबाट फर्काइएका छन् । धेरैपटक प्रयास गर्दा पनि घर जान नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रकाशित : जेष्ठ ६, २०७७ १७:२४