कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ का सीमावर्ती स्थानीय तहमा एक हजार बेड क्षमताका क्वारेन्टाइन बन्दै

अमृता अनमोल

बुटवल — भारतबाट आउने नागरिक बढ्दै गएपछि तिनको व्यवस्थापनका लागि प्रदेश ५ सरकारले सीमावर्ती क्षेत्रका स्थानीय तहलाई एक हजार बेड क्षमताका क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ ।

प्रदेश ५ का सीमावर्ती स्थानीय तहमा एक हजार बेड क्षमताका क्वारेन्टाइन बन्दै

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रादेशिक संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्र र भन्सार नाकामा रहेका स्थानीय तहहरुलाई सबै नागरिकलाई राख्न मिल्लेगरी पूर्वाधार व्यवस्थापन गर्न आग्रह गरेको छ । जसका लागि हाल सञ्चालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेन्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने निर्णय भएको छ । कोरोना संक्रमण थप फैलिन नदिन सीमा नाका प्रयोग गरी आउने व्यक्तिहरुको चेक र निगरानीमा सुरक्षा निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ ।

संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालनमा ल्याउने र व्यवस्था जिल्ला संकट व्यवस्थापन केन्द्रलाई मिलाउन निर्देशन दिएको छ ।

यस्तै रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक सय र भीम अस्पताल भैरहवामा थप ५० आइसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याइनेछ । संकट व्यवस्थापन केन्द्र र स्थानीय तहको समन्वयमा तराईका जिल्लामा कम्तीमा २ सय र पहाडी जिल्लाहरुमा कम्तीमा ५० बेडको आइसोलेसन सेन्टर बनाउन निर्देशन दिएको छ । जसअन्तर्गत बुटवलस्थित एन्फाको भवन र कोरिया नेपाल इन्स्टिच्युट अफ् टेक्नोलोजी भवनलाई आइसोलेसन अस्पताल बनाइने छ ।

कोभिड–१९ को प्रभाव बढी देखिएका जिल्लाका स्थानीय तहहरुमा परिक्षणको दायरा बढाउने र विरामीहरुसग सम्पर्कमा रहनेको उनीहरुको परिक्षण गर्ने व्यवस्था गर्ने तथा स्वाब संकलन गरिएका व्यक्ति र अन्य व्यक्तिलाई भौतिक दूरी कायम गरी बस्नका लागि परामर्श दिन स्वास्थयकर्मीहरुलाई आग्रह गरेको छ ।

कोरोना संक्रमण बढेपछि बिरामी व्यवस्थापन गर्न समस्या परेपछि पोजिटिभ देखिएका तर रोगको गम्भीर लक्षण नदेखिएका संक्रमितहरुलाई अलग राखिने भएको छ । जसमा लक्षण देखिए बिरामीलाई कोरोना विशेष अस्पताल र लक्षण नदेखिएकालाई जिल्लाका विभिन्न अस्पतालमा छुट्याइएका आइसोलेसन बेडमा व्यवस्थित गरिने छ । त्यसको व्यवस्थापन गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रले समन्वय गरेर उपचारको व्यवस्था मिलाउन आग्रह गरेको मुख्यमन्त्रीका सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?