कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ को प्रदेशसभा बैठक जेठ ९ मा

कोरोना अस्पतालको क्षमता बढाउने र किसानलाई राहत दिने सरकारको निर्णय
अमृता अनमोल

बुटवल — बुटवल प्रदेश ५ को प्रदेश सभा बैठक जेठ ९ गते बस्ने भएको छ ।  बिहीबार बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ को प्रदेशसभा बैठक जेठ ९ मा

यस्तै, भारतीय सीमा क्षेत्रबाट आउने नागरिक बढेपछि नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा क्‍वारेन्टाइनमा बस्‍ने विशेष व्यवस्था गर्ने र त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

संक्रमितको चाप बढेपछि बाँके र रुपन्देहीमा कोरोना विशेष अस्पतालको क्षमता बढाइने भएको छ । जसमा बाँकेमा डेन्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने , रुपन्देहीको बुटवलमा २ सय र भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्‍ने निर्णय भएको छ ।

बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्‍न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा बिरामी पठाइने भएको छ। बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने समेत मन्त्रिपरिषद् बैठकको निर्णय रहेको मुख्यमन्त्रीका सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैयाँ साउन मसान्तसम्म खर्च गरिने छ । कोभिड विशेष कृषि कार्यक्रम अन्तरगत विभिन्न शीर्षक समेत सरकारले छुट्याएको छ । जसमा कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ र बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्न १ करोड २० लाख रुपैयाँ छुट्याइएको छ ।

बेमौसमी आलु खेतीमा ५ सय किसान लाभान्वित हुने र कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेका किसानलाई प्रति रोपनी ६ हजार रुपैयाँको दरले अनुदान दिने निर्णय भएको छ ।

यस्तै, दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई लक्षित गरी १४ करोड बराबरको प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन हुनेछ । यसमा कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको किसानलाई मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिइने छ ।

प्रदेशका १ सय ९ वटै पालिकामा लक्षित गरी २१ करोड ८० लाख बराबरको कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम संचालन गर्ने मन्त्रिपरिषद्ले गरेको छ । जसमा व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न प्रति किसान २० हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड र दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैयाँ समेत विनियोजन गर्ने मन्त्रिपरिषदको निर्णय छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?