कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देही र कपिलवस्तुका संक्रमित भारतबाट लुकीछिपी प्रवेश गरेका थिए

प्रदेश ५ मा मात्रै संक्रमितको संख्या ९३ पुग्यो‍
अमृता अनमोल

बुटवल — प्रदेश ५ मा बुधबार साँझ मात्रै थप २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । पछिल्लो पटक पुष्टि भएका २१ मध्ये १९ जना भारतबाट आएका व्यक्तिहरु हुन् । एक जना भारतीय नागरिक हुन् भने अर्को एक जनाको पहिचान खुलेको छैन ।

रुपन्देही र कपिलवस्तुका संक्रमित भारतबाट लुकीछिपी प्रवेश गरेका थिए

रुपन्देहीमा कोरोना भाइरस पुष्टि भएका १२ मध्ये २ जना जिल्ला बाहिरका हुन् । यसमध्ये ९ पुरुष र महिला ३ जना छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीका अनुसार संक्रमितमध्ये १० जना गैडहवा गाउँपालिका–२ का हुन् । उनीहरु सबै भारतको मुम्बईबाट लुकीछिपी आएका हुन् । उनीहरुलाई वैशाख २४ र २५ गतेदेखि जोगडा माविको क्वारेन्टाइनमा राखिएको थियो ।

रुपन्देहीमा कोरोना पुष्टि भएका २ जना जिल्ला बाहिरका हुन् । एक जना कपिलवस्तुको विजयनगर गाउँपालिका–२ का हुन् । उनी ३ दिन अघिदेखि भैरहवाको भीम अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । अर्का नवलपरासी पश्चिममा पण्डितको काम गर्ने भारतको गोन्डा जिल्ला उत्तरप्रदेशका २५ वर्षीय युवा हुन् । उनी भारत जाने क्रममा सुरक्षाकर्मीले पक्राउ गरी ३ दिनअघिदेखि भैरहवाको भीम अस्पतालको आइसोलेसन वार्डमा राखेको थियो ।

कपिलवस्तुमा बुधबार साँझ भेटिएका ८ जना नै कृष्णनगर नगरपालिकाका हुन् । उनीहरु भारतको मुम्बईबाट वैशाख २४ र २५ गते आएका थिए ।

नवलपरासी पश्चिममा पनि एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । कपिलवस्तु र रुपन्देहीमा कोरोना पुष्टि भएका व्यक्तिको स्वाब प्रदेश प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो । उनीहरुमा कोरोना भाइरस देखिएको सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए ।

नवलपरासी पश्चिममा भेटिएका व्यक्तिको भने काठमाडौंमा स्वाव परीक्षण भएको हो । उनको ठेगाना नखुलेको प्रमुख चौधरीले बताए अहिलेसम्म प्रदेश ५ का कपिलवस्तु, रुपन्देही, बाँके बर्दिया र नवलपरासी पश्चिममा कोरोना देखिएको छ ।

अहिलेसम्म कपिलवस्तुमा ३८, रुपन्देहीमा २८, बाँकेमा २५ तथा बर्दिया र नवलपरासी पश्‍चिममा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश ५ मा संक्रमण पुष्टि भएकामध्ये एक जना निको भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक मंगलबार डिस्चार्ज भएका हुन् ।

प्रकाशित : वैशाख ३१, २०७७ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?