कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा अझै लुकीछिपी आउजाउ

प्रदेश ५ मा लकडाउनका बेला भारतबाट आएका २५ हजारमध्ये ५ हजारजति मात्रै क्वारेन्टाइनमा 
अमृता अनमोल

बुटवल — भारतसँग सीमा सिल गरिए पनि लुकीछिपी आउजाउ जारी रहँदा प्रदेश ५ मा कोरोना रोकथाम र नियन्त्रण मुस्किल देखिएको छ । रूपन्देही र बाँकेमा २ जनामा संक्रमण पुष्टि भएपछि स्थानीय थप त्रासमा छन् ।

सीमामा अझै लुकीछिपी आउजाउ

प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल धेरै भूभाग भारतीय भूमिमा जोडिएकाले जोखिम बढिरहेको बताउँछन् । ‘रोक्दारोक्दै र छेक्दाछेक्दै पनि नागरिक यताउता गरेका छन्,’ उनले भने, ‘यो सबैभन्दा ठूलो जोखिम हो ।’

प्रदेश ५ का ६ जिल्ला भारतसँग जोडिएका छन् । जहाँ खोल्सा, खेतका कान्ला र ढिकले सीमा छुट्ट्याइएको छ । ४ सय ८ किमि सीमाक्षेत्रमा ३५ ठाउँमा मात्र जाँच गर्ने हेल्प डेस्क छन् । यही कमजोरीको फाइदा उठाउँदै लकडाउनमा पनि भारतीय भूमिबाट लुकीछिपी मानिस आएका छन् ।

लकडाउनपछि मात्रै २५ हजार नागरिक प्रदेशमा भित्रिएका छन् । तीमध्ये करिब ५ प्रतिशत मात्रै क्वारेन्टाइनमा बसेका छन् । अरू घरमै छन् । मन्त्री बरालले जोखिम क्षेत्रबाट आएकाले सबैको कोरोना परीक्षण गर्ने बताए । ‘उनीहरूको नाम, ठेगाना र फोन नम्बर थाह छ । स्थानीय तहबाट खोजी भएको छ,’ उनले भने, ‘अबको पहिलो लटमा ती २५ हजार सबैको कोभिड–१९ परीक्षण हुनेछ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँको क्वारेन्टाइनमा ११ हजार ८ सय ९५ जना छन् । उनीहरूमध्ये पीसीआर र आरडीटी गरी ५ हजार जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । २ सय ४५ जनाको स्वाब संकलन गरिएको छ । जनशक्ति र उपकरण अभावमा परीक्षणको गति सुस्त छ । प्रयोगशालाको क्षमताअनुरूप परीक्षण गर्न नसक्दा पछिल्लो समय संकलित स्वाब काठमाडौं पठाउने गरिएको छ ।

समयमै कोरोना परीक्षण नभएपछि क्वारेन्टाइनमा बसेकाहरू त्यत्तिकै घर फर्किएका छन् । प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले अब कोरोना परीक्षणको गति बढ्ने दाबी गरे । ‘भीटीएम अभावले परीक्षणमा केही ढिलाइ भएको थियो,’ उनले भने, ‘अहिले एक हजारजति आएको छ । अरू आउने क्रममा छ । अब पीसीआर परीक्षण रोकिँदैन ।’

प्रदेशका रूपन्देही, बाँके र दाङमा पीसीआर ल्याब सञ्चालनमा छ । जसबाट दैनिक २०/२० वटा नमुना मात्रै परीक्षण हुने गरेको छ । किट र जनशक्ति अभाव रहेको प्रयोगशाला अब क्षमताअनुसार चल्ने गिरीले दाबी गरे ।

सशस्त्र प्रहरीले दुई दिनयता सीमा छुट्ट्याउने खोल्सा, कान्ला र ढिकमा पनि गस्ती थालेको छ । तर, उनीहरूको आँखा छलेर मानिस आउने क्रम रोकिएको छैन । सामाजिक विकासमन्त्री बरालले सीमा क्षेत्रका नागरिकलाई अपरिचित वा जोखिम क्षेत्रबाट आएको जो–कोहीलाई क्वारेन्टाइनमा लैजान सचेतना फैलाइएको बताए । ‘स्वास्थ्य परीक्षण त छँदै छ,’ उनले भने, ‘नागरिकमा सुरक्षा र चेतना फैलाए मात्र पनि प्रदेशमा खुला सीमाबाट कोरोना भित्रनबाट बच्न सकिनेछ ।’

प्रकाशित : वैशाख २१, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?