कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वारेन्टाइनमा वृद्धको मृत्यु

काशीराम डाँगी

रोल्पा — राजधानीस्थित इँटा उद्योगबाट गाउँ फर्काएर स्थानीय क्वारेन्टाइनमा राखिएका वृद्धको मृत्यु भएको छ । माडी गाउँपालिका–२ का ६२ वर्षीय तुलबहादुर परियारको सोमबार राति क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले काठमाडौंमा दम र क्षयरोगको उपचार गराइरहेका वृद्धलाई लकडाउनपछि गाउँमा ल्याइएको बताए । ‘इँटा उद्योगबाट उनका छोराछोरीसँगै उद्धार गरेर केही दिनअघि गाउँमा ल्याइएको थियो । उनले दम र क्षयरोगको औषधि खाने गरेका रहेछन्,’ उनले भने । पाँच दिनअघि सयौं मजदुरसहित उनलाई पनि गाउँपालिका र ऊर्जामन्त्री वर्षमान पुनको समन्वयमा घर्तीगाउँ ल्याइएको थियो ।

पारीबाङमा रहेको उनको घरछेउकै विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । घरमा अरू कोही नभएकाले साथैमा ल्याइएका छोराबुहारीलाई पनि विद्यालयको एउटै कोठामा राखिएको थियो ।

मृतकका छोरा र छोरी दुवैले हरेक वर्ष रोल्पाबाट इँटा उद्योगका लागि सयौं मजदुर राजधानीमा पुर्‍याउने गर्थे । बुबालाई भने उनीहरूले गत तिहारपछि उपचार गराउन राजधानी पुर्‍याएका थिए । सोमबार राति खाना खाएर साथै सुतेका वृद्धको मृत्यु भइसकेपछि मात्रै छोराले बिहान थाहा पाएका थिए ।

मृतकको स्वाब संकलन गरेर जाँचका लागि दाङस्थित प्रतिष्ठान अस्पतालमा पठाइएको रोल्पा अस्पतालकी प्रमुख डा. धनमाया घर्तीमगरले बताइन् ।

प्रकाशित : वैशाख १६, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?