कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंबाट अर्घाखाँची आएकालाई क्वारेन्टाइनमा राखिएन

वीरेन्द्र केसी

अर्घाखाँची — लकडाउन लम्बिएपछि काठमाडौंबाट बुधबार बेलुका सन्धिखर्क आइपुगेका ४ सय १ मध्ये २३ जना गुल्मी र ३ जना प्युठानका थिए । सबैजसो पालिकाले गाउँमा भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि अहिलेसम्म भूमिकास्थान नगरपालिकाले मात्र काठमाडौंबाट आएका २६ जनालाई क्वरेन्टाइनमा राखेको छ । यसरी आउनेमा सन्धिखर्क नगरपालिकाका ७२, शीतगंगा नगरका २४, छत्रदेव गाउँपालिकाका १ सय १५, मालारानीका ७३ र पाणिनि गाउँपालिकाका ६५ जना छन् ।

ठूलो संख्यामा भित्रिएकालाई कसरी व्यवस्थापन गर्ने भनेर जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधिसहित बसेको बैठकले १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरेको थियो । ‘हामीले सबैलाई क्वारेन्टाइनमा राख्न भनेर पालिकालाई जिम्मा दियौं तर जनप्रतिनिधिले राखेनन्,’ सहायक प्रजिअ विष्णुराज बेल्वासेले भने ।

भारतलगायत तेस्रो मुलुकबाट नभई काठमाडौंबाट आएकालार्ई सुरक्षित ठानेर क्वारेन्टाइनमा नराखिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । ‘केही बिरामी हुन थाले क्वारेन्टाइनमा राख्छौं, अहिले सबै घरपरिवारसँग गए,’ उनले भने ।

मालारानी गाउँपालिकाले नयाँ आएकालाई तापक्रम नापेर घर पठायो । ‘काठमाडौंबाट आएका भएकाले स्वास्थ्य चेक गरेर घर पठायौं, क्वारेन्टाइनमा बस्न भनेको मानेनन्,’ अध्यक्ष बालकृष्ण आचार्यले भने ।

भूमिकास्थान नगरमा भने सबैलाई क्वारेन्टाइन अनिवार्य गरिएको छ । ‘नगरप्रमुख रेशम थापा र उपप्रमुख खडानन्द बेल्वासेले काठमाडौंबाट आएकाहरू क्वारेन्टाइनमा नबस्ने भए फर्किनू भनेर अडान लिएपछि सबै बस्न तयार भए,’ प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले भने ।

प्रकाशित : वैशाख ११, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?