कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनमा पैदावार तस्करी गर्ने १० पक्राउ

दुर्गालाल केसी

(दाङ) — लकडाउनको मौका छोपी जिल्लाका विभिन्न वन क्षेत्रमा चोरी तस्करी बढ्न थालेको छ । मानिसहरूको चहलपहल कम भएको मौका छोपी तस्करी गर्ने १० जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । उनीहरूलाई कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको थुनामा राखिएको छ ।

वनमा पैदावार तस्करी गर्ने १० पक्राउ

चोरी तस्करी बढ्न थालेपछि जिल्लास्थित आठ वटै सबडिभिजन कार्यालयबाट गस्ती बढाइएको छ । सबै सबडिभिजन कार्यालयका कर्मचारीलाई चरणबद्ध रूपमा रात्रि तथा दिवा सत्रमा गस्तीका लागि खटाइएको कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । गस्तीका क्रममा पक्राउ परेका व्यक्तिलाई कानुनी कारबाहीसमेत थालेको उनले जानकारी दिए । उनका अनुसार लकडाउन अवधिभर विभिन्न ६ ठाउँबाट वन पैदावार चोरी तस्करी गरिरहेको अवस्थामा उनीहरूलाई गस्ती टोलीले पक्राउ गरेको हो । तीन ट्रयाक्टर र काठ पनि बरामद भएको छ । ‘लकडाउनको मौका छोपी तस्करी बढ्यो । प्राय:जसो तस्करी नहुने नयाँ ठाउँमा समेत अहिले तस्करी भएको छ,’ उनले भने, ‘लामो समयदेखि वन पैदावार तस्करीमा संलग्न पेसेवरहरू नै अहिले पक्राउ परेका हुन् । वनमै रुख काटिरहेको अवस्थामा उनीहरूलाई फेला पारेका हौं ।’

गस्ती टोलीले पश्चिम दाङमा सिकार गर्न प्रयोग गरिएको भरुवा बन्दुक, बारुद र गोली बरामद गरेको छ । बबई गाउँपालिका–७, हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट ती हतियार बरामद गरिएको वन कार्यालयले जानकारी दिएको छ । चोरी सिकारी भइरहेको सुराकीका आधारमा शुक्रबार पुरनधारा सबडिभिजन वन कार्यालयबाट गएको गस्ती टोलीले सिकारीले प्रयोग गर्ने एक थान भरुवा बन्दुक, बारुद, दुई थान सिसाको गोली र तीन थान बेरिङ बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि सिकारी हतियार फालेर भागेको डिभिजन प्रमुख ज्ञवालीको भनाइ छ । घटनालगत्तै वन क्षेत्रमा खोजी गर्दा सिकारीले वन्यजन्तु मार्ने क्रममा लुक्न बनाएका मचान (रुखमाथि बनाएका छाप्रा) फेला पारेको छ ।

प्रकाशित : वैशाख ७, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?