कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वारेन्टाइनमा बसेका ५० जनालाई आरडीटी टेस्टपछि घर पठाइयो

प्यूठान — क्वारेन्टाइनमा बसेका ५० जनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमण नभेटिएपछि घर पठाइएको छ । प्यूठानका विभिन्‍न क्वारेन्टानबाट उनीहरूलाई घर पठाइएको हो ।

क्वारेन्टाइनमा बसेका ५० जनालाई आरडीटी टेस्टपछि घर पठाइयो

जसमध्ये ऐरावती गाउँपालिका–२, बरौलाको क्वारेन्टाइनमा बसेका १६ जना र स्वर्गद्वारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जनाको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएपछि घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेर घर गएका सबैलाई अनिवार्य एक साता होम क्वारेन्टाइनमा बस्न भनिएको सुवेदीले बताए । घर उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र सबैजनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको पनि उनले जनाए । कोरोना भाइरसको संक्रमणको शंका बढी भएकाको स्वाब संकलन र कम शंकास्पदको आरडीटी टेस्ट गरिएको सुवेदीले जनाए । भारत र तेस्रो मुलुकबाट आएका ९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाएको थियो । त्यसको पनि परीक्षण रिपोर्ट नेगेटिभ आएको सुवेदीले बताए ।

प्यूठान जिल्लामा अब ४५ जना क्वारेन्टाइनमा छन् । स्वर्गद्वारी नगरपालिकामा १५ जना, ऐरावती गाउँपालिकामा १० जना, सरुमारानी गाउँपालिकामा ११ जना, माण्डवी गाउँपालिकामा ३ जना र नौबहिनी गाउँपालिकामा ५ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए । क्वारेन्टाइनमा बसेका सबैको आरडीटी परीक्षण तयारी भइरहेको उनले बताए ।

प्रहरीका अनुसार भारत र तेस्रोमुलुक गरी प्यूठानमा ३ हजार १ सय ८९ जना भित्रिएका छन् । पछिल्लो पटक जिल्लामा भित्रिनेलाई स्थानीय तहहरूसँग समन्वय गरी अनिवार्य क्वारेन्टाइनमा बसाल्ने व्यवस्था मिलाइएको अधिकारीले बताएका छन् ।

प्रकाशित : वैशाख ३, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?