कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकैबालीमा फौजी किराको आक्रमण, लकडाउनले विषादी अभाव

कमल पन्थी

बर्दिया — बाली लाग्दै गरेको अवस्थामा बाँके र बर्दियामा फैलिएका फौजी किराले मकै बाली सखाप पार्न थालेको छ । फौजी किरा नियन्त्रण गर्ने विषादी नपाउँदा किसान मर्कामा परेका छन् ।

मकैबालीमा फौजी किराको आक्रमण, लकडाउनले विषादी अभाव

कृषि ज्ञान केन्द्रका अनुसार बर्दियामा ४ हजार ९ सय हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएको छ । जिल्लाको बढैयाताल गाउँपालिका, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबालगायतका नगरपालिकामा मकै बालीमा फौजी किरा फैलिएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बाँके र बर्दियामा फैलिएको फौजी किराले करिब ८० प्रतिशत मकै बाली प्रभावित भएको बताए । फौजी किरा मार्ने विषादी लकडाउनका कारण पाइएको छैन,' उनले भने, 'विषादी नपाउँदा फलेको बाली क्षती हुँदै गएको छ ।'

नेपालगञ्ज बजारमा समेत फौजी किरा मार्ने विषादी छैन । बाँकेमा २ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा किसानले मकै बाली लगाएका छन् । बाँकेमा पाक्न लागेको मकैबालीमा फौजी किराले क्षति पुर्‍याउन थालेको छ ।

लकडाउनले यातायातका साधन साधन नचल्दा वीरगञ्जलगायत ठाउँबाट विषादी आउन सकेको छैन ।

यहाँका दर्जनौं किसान फौजी किराको आतंकले बिउ, मल र जोतेको खर्च नउठ्‍ने चिन्तामा छन् । किरा नियन्त्रणको प्रयास गरिए पनि विषादी नपाउँदा नियन्त्रणमा आउन नसकेको मधुवन– ५ का दिलबहादुर खड्काले बताए । विगत दुई साता देखि मकैबालीमा फैलिएका किरा सक्रिय भए पनि चाँडै नियन्त्रणमा आउने सम्भावना कम हुँदै गएको स्थानीय किसान बताउँछन् ।

पुतली जातको किराले मकैको बालीभित्र पसेर क्षति पुर्‍याउने गरेको छ । फौजी किराले पाक्न लागेको मकैको दाना टुक्राट्क्रा पार्ने गरेको कृषि प्राविधिक बताउँछन् । किसानले लकडाउनले समस्या पारि रहेको समय फौजी किराबाट बाली क्षति भएको भन्दै सरकारले क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् ।

प्रकाशित : चैत्र २९, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?