कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकारसँग किट र मास्क माग 

विदेशबाट फर्कने एक हजारभन्दा बढी, क्‍वारेन्टाइनमा ३४ जना मात्रै
माधव अर्याल

पाल्पा — कोरोना भाइरस(कोभिड–१९) का शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि पठाउन थालेपछि किट अभाव भएको छ ।

प्रदेश सरकारसँग किट र मास्क माग 

अस्पतालहरुले प्रारम्भिक स्वास्थ्य जाँच गरेर आइसोलेसनमा राख्ने र स्वाब परीक्षणका लागि पठाउन थालेका हुन् । पाल्पा जिल्लाका लागि स्वास्थ्य कार्यालयमा १० र ३ वटा मात्रै किट प्राप्त भएको थियो । जसमा लुम्बिनी मेडिकल कलेजले तीन र पाल्पा अस्पतालले एक स्वाब खर्च गरिसकेका छन् ।


स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेका अनुसार कोरोना संक्रमण, रोकथाम र उपचारार्थ सिर्जित् विपद्को व्यवस्थापन गर्ने प्रयोजनका लागि गठित जिल्लास्तरीय कमान्ड पोस्टको बैठकले किट माग गरेको हो । ‘स्थानीय तहका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गरियोस् भन्ने माग आएको छ,’ उनले भने, ‘तर हामीसँग किट नै छैन भन्दा हुन्छ ।’ उनका अनुसार स्वास्थ्य कार्यालयमा ७ र जिल्ला अस्पतालमा दुई मात्र किट छ । तर भारतको गौरीफन्टा र गड्डा चौकीबाट पछिल्लो समय फर्केकाहरु नै ३४ जनाभन्दा बढी छन् ।

व्यक्तिगत सुरक्षा औजार तथा आवश्यक उपकरण ५ नम्बर प्रदेश सरकारसँग माग गर्ने निर्णय भएको कमान्ड पोस्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । अस्पतालमा विरामीको परीक्षण गर्न आवश्यक पीपीई, एन नाइन्टी फाइभ मास्क र किट ५/५ सय थान उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेको उनले बताए ।


त्यस्तै भारत तथा तेस्रो मुलुकबाट मानिसहरु आउने क्रम जारी रहेकाले बाहिरबाट आउने सबै नागरिकलाई स्थानीय तहले अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय भएको छ । पछिल्लो समयमा गौरीफन्टा र गड्डा चौकीबाट भित्रिएका पूर्वखोला सिलुवाका २१ जना, रामपुरका नौ जना, रिब्दीकोट ख्याहाका दुई र रैनादेवी छहराका २ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनीहरू सबै क्वारेन्टाइनमा छन् ।

रामपुरका नौ जनालाई बालकल्याण प्राविको क्वारेन्टाइनस्थलमा राखिएको रामपुरका मेयर रमण थापाले बताए ।


विदेशबाट रैनादेवी छहरामा आएका नागरिकहरु सुरुदेखि नै क्वारेन्टाइनमा राखिएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । रिब्दीकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका केही नागरिक १४ दिनपछि घरमै फर्किएका अध्यक्ष नारायणबहादुर जीसीले बताए ।


पूर्वखोला गाउँपालिकाका २१ जना सिलुवाको क्वारेन्टाइनमा बसेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । जिल्लामा १ हजार ९६ जना भारत गायत तेस्रो मुलुकबाट फर्किए पनि क्वारेन्टाइनमा भने ३९ जना मात्रै बसेका छन् ।

प्रकाशित : चैत्र २४, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?