कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा अलपत्र गर्भवतीको उद्धार

अमृता अनमोल

बुटवल — सीमा क्षेत्रमा अलपत्र परेकी एक गर्भवती महिलाको उद्धार गरिएको छ । सुत्केरी हुने दिन नजिकिएकी रेसुङ्गा नगरपालिका–२ गुल्मीकी भगवती परियारलाई उद्धार गरिएको हो ।

सीमामा अलपत्र गर्भवतीको उद्धार

भारतको दिल्ली नजिक गाजियावाद सहरबाट आएकी उनी ४ दिन बेलहिया नाकामा अलपत्र परेकी थिइन् । बुधबार ८ किलोमिटर पर नौतनवास्थित मोर्डन कलेजमा लगिएको थियो । महिना नजिकिँदा कमजोर भएकी उनी धेरै दिन सडकमा बस्दा थलिँदै गएकी थिइन् ।


क्वारेन्टाइनमा गएपछि नौतनवाका स्थानीयले सुत्केरी हुने दिन नजिकिएकी र अस्वस्था गर्भवती महिला रहेको नेपाली पक्षलाई खबर गरेका थिए । त्यसपछि बेलहिया प्रहरी कार्यालयका इन्सपेक्टर ईश्वर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी बुझ्न गएको थियो । टोलीले उनको अवस्था नाजुक भएको र तत्काल उद्धार गर्नुपर्ने रिपोर्ट ल्याएको थियो ।


त्यसपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार गर्भवतीलाई नेपाल लैजान अनुमति माग्दै नौतनवा प्रशासनलाई पत्र पठाएको थियो । नौतनवा प्रशासनले आफै जोखिम उठाए लैजान सक्ने बताएपछि उद्धार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘थप जोखिम हुन नदिन एम्बुलेन्स लगेर नौतनवासम्मै गयौं,’ प्रजिअ पन्थले भने, ‘गर्भवती सहित उनको परिवारलाई लिएर आयौं,’ प्रजिअ पन्थले भने ।


भगवतीसँगै उनका दुई वर्षे छोरा निशान परियार र पति सुनिलकुमार परियार समेत नेपाल आएका छन् । सुनिलले गाजियावादको एक स्कुलमा बस चलाउँथे । स्कुलले अनिश्चितकालका लागि बिदा दिएको थियो । गाजियावादस्थित अस्पतालले समेत भगवतीको चेकजाचमा अस्विकार गरेपछि उनीहरु नेपाल हानिएका थिए । ‘नौ महिना पुगीसकेको छ । यही हप्ता सुत्केरी हुने डेट दिएको थियो,’ भगवतीले भनिन्, ‘विदेशी भूमिमा मरिएला कि भनेर त्यहाँबाट हिँडेका हौं ।’


शुक्रबार साँझ बेलहिया नाकामा आएका उनीहरुलाई राति नै रेसुङ्गा नगरपालिका गुल्मी पठाइएको छ । प्रशासनले रेसुङ्गा नगरपालिकालाई महिलाको स्वास्थ अवस्थाबारे जानकारी गराएको थियो । त्यसपछि एम्बुलेन्स खर्चसमेत नगरपालिकाले व्यहोर्ने गरी शुक्रबार राति नै उनलाई गुल्मी पठाइएको हो ।


उनी रेसङ्गा नगरपालिका ७ उपल्लो तम्घासमा रहेको आइसोलेसन वार्डमा बसेकी छन् । वार्डमा उनको परिवार र अर्का एक जना ज्वरोका बिरामी छन् । उनीहरुका लागि ५ जना स्वास्थ्यकर्मी खटेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्ति मरासिनीले उनको स्वास्थ जाँच गरी १४ दिन सम्म यही आइसोलेसनमा राखिने बताए । ‘प्रारम्भिक रुपमा उनको अवस्था ठिकै छ,’ उनले भने, ‘थप स्वास्थ्य जाँच गरिने छ ।’


तम्घास आइसोलेसन वार्डमा पुगेकी भगवतीले अब बाँचिएको भन्ने आश पलाएको बताइन् । ‘काख र कोखमा बच्चा । बिमारी शरीर ज्यानले हार खाएको थियो,’ उनले भनिन्, ‘अब बाँचिन्छ भन्ने आश पलाएको छ ।’

प्रकाशित : चैत्र २२, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?