कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्नलाई बाँडिँदै राहत

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सैनामैना नगरपालिकामा संकलित राहत शुक्रबार बाँड्न  सुरु गरिएको छ । नगरपालिकाका ११ वटै वडा कार्यालयले संकलन गरेको खाद्यान्न वितरण गरिएको हो । 

विपन्नलाई बाँडिँदै राहत

सैनामैना–६ का वडाध्यक्ष वसन्त पाण्डेका अनुसार वडाका विपन्न ५५ परिवारलाई चामल १० किलो, नुन एक किलो र खाने तेल एक लिटरका दरले वितरण गरिएको जानकारी दिए । ‘प्रत्येक वडामा दैनिक ज्यालादारी गर्ने विपन्न परिवार छनोट गरेर राहत बाँड्न थालेका छौं,’ उनले भने ।


नगरपालिकाले ११ वडा कार्यालयमा रहेको विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट वितरण गर्न राहत पठाउने तयारी गरिरहेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । उनका अनुसार सबै वडा कार्यालयका लागि एक सय २० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल नुन, १२ सय लिटर तेल र १२ सय थान साबुन वडा कार्यालयमा पठाउने गरी व्यवस्था गरिएको छ ।

सैनामैना नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका निजी मेडिकल तथा क्लिनिक खुला राख्न शुक्रबार निर्देशन दिएको छ । नगर उपप्रमुख बिना रानाको संयोजकत्वमा बसेको नगर स्वास्थ्य समन्वय समितिको बैठकले उक्त निर्देशन दिएपछि नगरका निजी क्लिनिक, मेडिकल र अस्पतालमा अनुगमन गरिएको थियो ।

प्रकाशित : चैत्र २१, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?